झापा, वैशाख ४ । नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा एक करोड पुरा भएको घोषणा गरिएको छ । हिजो बिर्तामोडमा आयोजित कार्यक्रममा महासंघको उपचार कोषमा एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैया जम्मा भएको घोषणा गरिएको थियो । पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको सभापतित्वमा सम्पन्न भएको उपचार कोष घोषणा तथा दाता सम्मान कार्यक्रमा प्रमुख अतिथि नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपाल पत्रकार महासंघ झापाले शुरु गरेको अभियान देशभर सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दैं डा यादवले दीर्घकालीन सोचका साथ शुरु गरिएको यो अभियान देशैभर सञ्चालन गर्नुपर्ने बताउनु भएको हो । उहाँले देशकै उदाहरणीय कार्य भएको भन्दै पत्रकार महासंघ झापा शाखाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले पत्रकार महासंघ झापाले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले अन्य जिल्लाले समेत झापाबाट धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल पत्रकार महासंघ झापाले पत्रकारको हितमा गरेको कामको प्रशंसा गर्दै पत्रकारको पेशागत दक्षता र क्षमता अभिवृद्धिबाट आफू समेत पे्ररित भएको बताउनुभयो ।
त्यस्तै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको कोषको प्रशंसा गर्नुभयो । उहाँले कोषमा सहयोग गर्ने दाता परिवारलाई समेत धन्यवाद दिनुभयो । नेपाालका परिर्वतित आन्दोलनमा सञ्चार माध्यमले पु¥याएको योगदान उल्लेख्य रहेको भन्दै थापाले सञ्चार क्षेत्रका विकास भए मात्रै लोकतन्त्र सुदृढ हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै सहारा नेपाल साकोसका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले दीर्घकालीन सोच राखेर शुरु गरिएको यो अभियानले सार्थकता पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । सही नेतृत्व पाए बाँकी रहेका कामले सफलता प्राप्त गर्ने भन्दै गिरीले यसपटक झापा शाखाले देखेको सपना पूरा भएको बताउनुभयो । उहाँले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष भीम नेम्वाङको कार्यकालबाट शुरु भएको अभियानले सार्थकता पाएको भन्दै यसको संरक्षण, विकास र प्रवद्र्धनमा ध्यान दिन सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासंघका पुर्व महासचिव चन्द्र भण्डारीले पत्रकार महासंघ झापा शाखाले स्तुत्य कार्य गरेको भन्दै अध्यक्ष एकराज गिरीसहित अभियानका परिकल्पनाकार तथा दातालाई धन्यवाद दिनुभयो । उहाँले कोषको रकम दुरुपयोग हुन नदिने उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । अध्यक्ष गिरीले यो अभियानमा जोडिनेसबैलाई धन्यवाद दिनुभयो । उहाँले यो कोषको रकम दुरुपयोग नहुने भन्दै कोषलाई अझ बढाएर लैजाने प्रतिबद्धता जनाउनुभयो । गिरीले कोषबाट प्राप्त ब्याजबाट अग्रज पत्रकारलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने आफ्नो अभियान रहेको जानकारी समेत दिनुभयो ।
महासंघ झापाका सचिव डिकेश लामाले स्वागत गरेको कार्यक्रममा अभियानमा सहयोग गर्ने सहारा नेपाल, अन्तर्राष्ट्रिय झापाली समाजसहित व्यक्तिगत रुपमा सबैभन्दा धेरै रकम प्रदान गर्ने दाता जयनारायण ढुंगाना लगायत एक सय ३८ जनालाई सम्मान गरिएको थियो । सम्मान सरकारी निकाय, विभिन्न संघ–संस्था र दातालाई कार्यक्रमका प्रमुख अतिथि डा यादवले प्रदान गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले गर्नु भएको थियो ।
कोषको रकम एक करोड पुगेसँगै अक्षयकोषको घोषणा र महासंघ झापा शाखाको स्तरोन्नति गरिएको भवनको डिजिटल उद्घाटन गरिएको थियो । प्रमुख अतिथि डा यादवले आइतबार झापा आए लगत्तै महासंघ कार्यालयको अवलोकन समेत गर्नु भएको थियो ।