झापा, वैशाख २ । नयाँ बर्ष २०८१ को पहिलो दिन नै नेपाली क्रिकेट टिमका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले खुसीको उपहार दिएका छन । एसिसी प्रिमियर कपमा वैशाख १ गते भएको खेलमा ऐरी ६ बलमा ६ छक्का प्रहार गरेर नयाँ कीर्तिमान राखेका छन । दिपेन्द्रले कतारसंगको खेलमा आफ्नो इनिगंको अन्तिम ओभरमा कतारका कमरान खानले फ्याँकेको ६ वटै वलमा छक्का प्रहार गरेर किर्तिमान राख्ने पहिलो नेपाली र तेस्रो अन्तराष्ट्रिय खेलाडी बनेका छन ।
यस अघि अन्तराष्ट्रिय टी २० क्रिकेटमा भारतका युवराज सिंह र वेस्ट इण्डीजका केइरन पोलार्डले ६ वलमा ६ छक्का प्रहार गरेका छन । दिपेन्द्रको किर्तिमानी इनिगंको सहयोगले नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गर्यो ।
नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले ९ विकेटको क्षतिमा १७८ रन जोड्यो । कतारका लागि कप्तान मोहमद तनविरले ६३ रन जोडे । उनले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। उनी १५औं ओभरमा अभिनास बोहराको बलमा कुशल भुर्तेलबाट क्याच भएका थिए । बलिङमा नेपालका ललित राजवंशी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले २÷२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको विस्फोटक ब्याटिङमा ७ विकेटको क्षतिमा २१० रन जोड्यो । दीपेन्द्रले नटआउट ६४ रन जोडे । उनले २१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । हिजोको खेलमा आसिफ शेखले ५२ रन र कुशल मल्लले ३५ रन जोडे । नेपालका अरु ब्याटर भने सस्तैमा आउट भए । बलिङमा कतारका हिमांशु राथोड र मुसावर शाहले ३÷३ विकेट लिए ।
प्रतियोगितको नेपाल साविक विजेता हो । प्रतियोगितामा १० टिम सहभागी छन । समूह ‘ए’ मा रहेको नेपालसँगै मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन । कपको आयोजक ओमान समूह ‘बी’ मा छ । समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। । पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा कतारलाई हराएको नेपालले अब तेस्रो खेल हङकङसँग वैशाख ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ ।
समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन । सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ । यो प्रतियोगिता जित्ने टिम सन २०२५ को एसिया कपमा पुग्नेछ । सन २०२५ को एसिया कप टी २० फम्र्याटमा हुनेछ । शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन । प्रतियोगितालाई आइसिसी टी २० विश्वकपको तयारीको रूपमा लिइएको छ । गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ ।