झापा, बैशाख १ । नयाँ वर्ष २०८१ को अवसर पारेर झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ मा आजदेखि भिरपाखा रिसोर्ट एण्ड फनपार्क सञ्चालनमा आउने भएको छ ।
बाहुनडाँगीका युवा व्यवसायी राजेश बासकोटाले सञ्चालन गर्नु भएको उक्त रिसोर्टमा बैशाख १ गते नयाँ बर्षका दिन दिउँसो ४ बजेदेखि “अरेली काँडैले” गीतकी चर्चित गायिका शान्ति श्री परियारको सांगीतिक प्रस्तुति रहनेछ भने नयाँ वर्ष विशेष स्थानीय कलाकार तथा ब्यान्डहरुको समेत सहभागीता रहने सञ्चालक बास्कोटाले जानकारी दिनुभयो ।
फनपार्क पुर्णरुपमा सञ्चालनमा आइसक्दा झन्डै १२ करोड लगानी लाग्ने र हाल साँडे पाँच करोड रुपैयाँ खर्च भैसकेको समेत उहाँले बताउनुभयो । रिसोर्टमा विभिन्न आकर्षक वस्तु तथा कलाले सजावट गरिएको छ भने ससाना केटाकेटीहरुका लागि मनोरञ्जनात्मक खेलकुद सामाग्रीहरु राखिएको छ ।
रिसोर्टमा पार्टी हल, सुविधासम्पन्न कोठाहरु, रेस्टुरेन्ट एण्ड बार, स्विमिङ पुल, लगायतका सुविधा रहेको छ । यस्तै उक्त रिसोर्टमा पाक्ने हरेक खानेकुराहरु स्थानीय स्तरमै उत्पादन हुने सञ्चालक बास्कोटाले जानकारी दिनुभयो । बास्कोटाका अनुसार, तरकारी खेती देखि कुखुरा , खसी पालन समेत भैरहेको र माछा समेत रिसोर्टमा नै पालिने गरिको तयारी रहेको छ । बास्कोटाले यसअघि नै गाई फारम सञ्चालन गरिरहनु भएको छ ।
वैदेशिक रोजगारबाट फर्केपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्धेश्यका साथ व्यवसाय सञ्चालन गर्नु भएका बास्कोटाले रिसोर्टमा हाल प्रत्यक्ष रुपमा २० जनाले रोजगारी पाइरहेको र रिसोर्ट पुर्ण रुपमा सञ्चालनमा आएपछि रोजगारी पाउने संख्या थपिने बताउनुभयो ।
राज्यले स्वदेशमा केही गर्न चाहने युवाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा व्यवसायीहरुलाई विभिन्न कठिनाईमा पार्ने काम गरेको र यसमा राज्य गम्भीर भए मात्रै व्यवसायीहरुले थप लगानी गरेर रोजगारी सिर्जना गर्न सकिने बाँस्कोटाले बताउनुभयो ।