झापा, चैत २६ । नेपालको दोस्रो ठूलो सहकारीको रुपमा रहेको झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले २०८४ सम्ममा शेयर पुँजी २ अर्ब २५ करोड ३० लाख पुर्याउने लक्ष्य लिएको छ । आइतबार संस्थाको तेस्रो रणनीतिक व्यावसायिक योजना २०८०–०८४ सार्वजनिक गर्दै अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले २०८० माघ मसान्तसम्म एक अर्ब ४१ करोड ६३ लाख ५६ हजार ४ सय रुपैंया रहेको संस्थाको चुक्ता शेयर पुँजीलाई बढाएर २०८४ असार मसान्तसम्म २ अर्ब २५ करोड ३० लाख पुर्याउने लक्ष्य निर्धारण गरेको बताउनु भयो ।
त्यस्तै संस्थाको सञ्चालन मुनाफालाई २०८४ असारमा एक आर्थिक बर्षमा ७७ करोड ४१ लाख पुर्याउने प्रक्षेपण गरिएको अध्यक्ष शिवाकोटीले बताउनु भयो । शिवाकोटीका अनुसार गत आर्थिक बर्षमा करीब २२ करोड सञ्चालन मुनाफा गरेको एनएमसीले चालु आर्थिक बर्षको माघ मसान्तसम्मको ७ महिनाको अवधीमा ४ करोड ३८ लाख मुनाफा गरेको छ । संस्थाले सुरुका वर्षमा वार्षिक बजेट तथा कार्यक्रम मात्र तर्जुमा गरी कार्यान्वयन गर्दै आएकोमा पछिल्लो चरणमा वार्षिक बजेट तथा कार्यक्रमका अतिरिक्त मध्यकालीन रणनीतिक व्यावसायिक योजनासमेत बनाएर सोही आधारमा संस्था सञ्चालन गर्दै आएको अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले रणनितिक व्यशायिक योजना सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।
एनएमसीले भर्खरै तेस्रो रणनीतिक व्यावसायिक योजना स्वीकृत गरेको हो । सो को तर्जुमा गर्दा संस्थाको ऐतिहासिक विकासक्रम, संस्था सञ्चालनको तीन दशकमा प्राप्त अनुभव र सिकाई, समग्र समसामयिक परिवेश विश्लेषण, संस्थाको सबल पक्ष, कमजोर पक्ष, अवसर र चुनौती विश्लेषणजस्ता विषयमा विभिन्न चरणमा आयोजित कार्यशाला तथा अन्तरक्रियाबाट निकालिएको निश्कर्षलाई समावेश गरिएको उहाँले बताउनुभयो ।
रणनीतिक योजनामा संस्थाले आफ्नो वित्तीय कारोबारको आँकडा कस्तो बनाउने भन्ने बारेमा लक्ष्य निर्धारण गरेको छ । जसअनुसार २०८० माघसम्ममा संस्थामा १ लाख ६२ हजार ३६७ सदस्य रहेका छन । २०८४ को असार मसान्तमा सदस्य संख्या ७१ हजार ५५४ ले वृद्धि गरी २ लाख ३३ हजार ९२१ पुर्याउने प्रक्षेपण गरिएको छ । संस्थाको साधारण जगेडा कोष १ अर्ब १५ करोड ७० लाख पुर्याउने लक्ष्य लिइएको छ । हाल १० अर्बको हाराहारी रहेको निक्षेप बचतलाई १६ अर्ब ७८ करोड ६१ लाख पुर्याउने, कर्जा लगानी १० अर्ब ६२ करोड ५४ लाखबाट बृद्धि गरी १७ अर्ब ४८ करोड ७६ लाख पुर्याउने र २२ अर्ब ४६ करोड ६२ लाखको वासलात बनाउने तेस्रो रणनीतिक व्यवसायिक योजनामा लक्ष्य राखिएको उल्लेख छ ।
विगत केही समयदेखि सहकारीप्रति समाजमा धुमिलिएको वातावरण, सहकारीमा लागेका आरोप, सहकारीप्रति बन्ने कतिपय नकारात्मक धारणा जस्ता परिवेशका बीच चालू आर्थिक वर्षबाटै सुरु भएको चार वर्षे रणनीतिक व्यावसायिक योजना मार्फत संस्थाको हालको ख्यातिलाई अझ उँचो पार्दै सहकारी क्षेत्रको आदर्श र भरोसायोग्य संस्थाको रुपमा सदस्य, समुदाय र राज्यको समेत मन जित्ने गरी दिगो सहकारी संस्था स्थापित गर्ने उद्घोष गरिरहेको अध्यक्ष सिवाकोटीले पत्रकार माझ बताउनुभयो ।
संस्थाले आफ्नै नामबाट ब्रान्डिङ गरी तोरीको तेल उत्पादन र बिक्री गर्ने, सिटिसी चिया प्याकेजिङड उद्योगलाई थप व्यवसायिक बनाई विस्तार गरिने, इलामेली चिया उत्पादक सहकारी संस्थाबाट एकीकरणका क्रममा प्राप्त जग्गामा पार्टी प्यालेस तथा गेष्ट हाउस निर्माणको सम्भाव्यता अध्ययन सम्बन्धी कार्य अगाडि बढाउने, एनएमसी एग्रोफार्म अन्तर्गत सञ्चालित गाई फार्मलाई उच्च नश्लमा आधारित बाछी उत्पादन केन्द्रका रुपमा विकास गरिने लगायतको योजनाहरु पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यस्तै कम लगानी र कम सञ्चालन खर्चमा सञ्चालन गर्ने गरी सहकारी पसल विस्तार योजना कार्यान्वयन गरिने, व्यवसाय विस्तारको सम्भावना कम भएका बचत तथा ऋण सहकारी व्यवसायका सेवा केन्द्रहरुलाई आवश्यकता अनुसार एक आपसमा गाभिने, सम्भाव्यता अध्ययनका आधारमा सहकारी संस्थाहरुसँगको एकीकरणलाई निरन्तरता दिइने, योजना अवधि अन्तर्गत हाल प्रस्तावमा नरहेका तर सम्भाव्यताका आधारमा अन्य कुनै व्यवसाय विस्तार गर्नुपर्ने भएमा सोलाई समेत प्राथमिकतामा राखिने, आगामी ४ वर्षका लागि हाल गरिएको परिस्थिति विश्लेषणमा अस्वाभाविक परिवर्तन नभएमा योजना आवधिमा प्रक्षेपण गरिएका लक्ष्य प्राप्त हुने कुरामा संस्था विश्वस्त रहेको जनाइएको छ ।
संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित पत्रकारहरुलाई लेखा सुपरिवेक्षण समितिका संयोजक रचना दाहालले स्वागत गर्नु भएको थियो । सो अवसारमा पत्रकारहरुको जिज्ञासालाई संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती र प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सहजीकरण गर्नु भएको थियो ।