चैत २२,झापा । इलाम–२ को उपनिर्वाचनमा नेपाली कांग्रेसबाट डम्बर खड्का उम्मेदवार बन्नुहुने भएको छ । आज सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले खड्कालाई उम्मेदवारको रुपमा टुंगो लगाएको हो ।
खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित हुनुभएको थियो । यसअघि इलाम–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा मतभेद चुलिएको थियो । इलाम– २ मा जिल्ला सभापति खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्य मध्ये कसलाई उम्मेदवार बनाउने भन्नेमा मतभेद देखिएको थियो ।
सभापति देउवाले खड्काको नाम प्रस्ताव गर्नुभएको थियो भने नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सार्नुभएको थियो । यहि बिषयमा सहमति हुन नसक्दा मंगलबार र हिजो लगातर बसेको बैठक निस्कर्ष विहिन भएको थियो ।
आज बिहान बसेको संसदिय बोर्डको बैठकले इलाम–२ मा खड्का र बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुनुहुन्छ । सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । संसदीय बोर्डको निर्णयलाई आजनै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ ।
माओवादीले एमालेलाइ सघाउने :-
नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा आफनो उम्मेदवार नउठाइ नेकपा एमालेलाइ सघाउने भएको छ ।
उम्मेदवारका लागि सिफारिसमा पर्नुभएका आफनो पार्टीका धिरेन्द्र शर्मालाई पछि हटाएर माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको हो । माओवादीका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिनुभयो ।
इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ र पहिचानवादीबाट डगेन्द्रसिंह थेगिम उम्मेवार बन्नुभएको छ ।