झापा,चैत १८ । नेपालमा अहिले प्रिमनसुनको समय चलिरहेको छ । यो समयमा ‘एक्कासि’ हावाहुरी, मेघगर्जन र चट्याङ तथा वर्षा हुने गर्दछ । यो नै प्रिमनसुनको ‘नेचर’ भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । प्रिमनसुन मनसुन सुरु हुनुभन्दा पहिलेको समय हो । प्रिमनसुनमा यस्ता गतिविधि सामान्य रहेको महाशाखाले जनाएको छ ।
अंग्रेजी महिनाको मार्च, अप्रिल र मेलाई प्रिमनसुन समय मान्ने गरिन्छ । मौसम विज्ञान विभागले हरेक दिन जारी गर्ने बुलेटिनमा चट्याङबाट जोगिन आग्रह गर्ने गरेको छ ।
मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको र यसबाट जोगिन सतर्क रहन विभागले आग्रह गर्दै आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङको जोखिमबाट बच्न सावधानी अपनाउन अनुरोध गर्दै आएको छ । चट्याङ चैतदेखि जेठ महिनासम्म अत्यधिक पर्छ । तर, अरु समयमा पनि पर्ने प्राधिकरणको भनाइ छ ।
चट्याङबाट जोगिन विभिन्न उपायहरू अपनाउन सकिने प्राधिकरणले बताएको छ । “चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट हो । यसबाट हाम्रा घरहरूलाई धातुका सामग्री प्रयोग गरी सुरक्षित बनाउन सकिन्छ । तामा, आल्मुनियम तथा जीआईका रडक घरको सबभन्दा अग्लो भागमा राख्ने अनि सोही धातुका रड वा पाता जोडेर जमिनसम्म र्पुयाउने र तामाको रडसँग जोडी अर्थिङ गरिए धेरै हदसम्म घरहरू सुरक्षित हुन्छन्,” प्राधिकरणले भनेको छ । यस्तै, चट्याङबाट सुरक्षित रहन गड्याङगुडुङ गरेका बेला घरबाट बाहिर ननिस्कने र घरबाहिर भएमा तुरुन्त घरभित्र वा सुरक्षित स्थानमा जानुपर्छ ।
प्राधिकरणका अनुसार चट्याङबाट जोगिन पक्की घर, बस, भ्यान आदि सुरक्षित स्थान हुन् । तर, यस्ता सुरक्षित स्थान पुग्ने अवस्था नरहेमा अग्लो र एक्लो रुखको ओत लाग्न नहुने प्राधिकरणले जनाएको छ । बरु, रुखदेखि टाढा टुक्रुक्क बस्नुपर्छ । खुला चौरमा परेमा टुक्करुक्क बसी टाउकोलाई दुई घुँडाको बीच राखी कान थुन्न प्राधिकरणको सुझाव छ ।
प्राधिकरणका अनुसार घरभित्र रहँदा पनि झ्याल, ढोका बन्द गरी कोठाको बीचमा बस्नुपर्छ । टीभी, वासिङ मेसिन, फ्रिज तथा अरू विद्युतीय सामग्रीका तारहरू प्लगबाट छुटाउनुपर्छ । यस्तै, गड्याङगुडुङका बेला पानीका स्रोतमा सीधै नुहाउने, धुने नगर्ने र टेलिफोनमा कुरा गर्न नहुने प्राधिकरणले जनाएको छ । “सबैभन्दा महत्त्वपूर्ण कुरा चट्याङ अपराह्न ३ बजेपछि पर्ने हुनाले घरबाहिरका काम बिहानको समयमा गरी साँझपख घरभित्रका काम गर्नुपर्छ,” प्राधिकरणको सुझाव छ ।
बाह्रखरीबाट