झापा, चैत ७ । मंगलवार मात्रै सम्पन्न मेचीनगर स्पोर्टस् मोनिया २०८० मा खेलाडीहरु भेदभावमा परेको खुल्न आएको छ । मेचीनगर नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा फागुन २९ गतेदेखि चैत ६ गतेसम्म सञ्चालन गरिएको मेचीनगर स्पोर्टस् मेनियामा क्रिकेट प्रतियोगिता अन्तर्गत प्रत्येक खेलमा म्यान अफ दि म्याचको नगद पुरस्कार नदिइएको खेलाडीहरुले गुनासो गरेका छन ।
क्रिकेट र फुटबलमा समान संख्यामा खेल भएता पनि फुटलब अन्तर्गत प्रत्येक खेलमा म्यान अफ दि म्याच बापत नगद दुई हजार रकम वितरण गरिए पनि क्रिकेट खेलमा म्यान अफ दि म्याचमा नगद वितरण नगरेर नगरपालिकाले आफुहरुलाई भेदभाव गरेको क्रिकेट खेलाडीहरुले गुनासो गरेका हुन । फुटबल र क्रिकेटमा बराबरी खेल भएकाले फुटबललाई म्यान अफ दि म्याचलाई नगद पुरस्कार दिंदा क्रिकेटलाई पनि दिनु पर्ने हो तर नगरपालिकाले क्रिकेट खेलाडीलाई नगद नदिएको स्पोर्टस् मेनियाका क्रिकेट खेलका संयोजक रहनु भएका लाक्पा लामाले सेतोपत्रलाई बताउनु भयो ।
‘शुरुमा क्रिकेट र फुटबल दुवै खेलमा म्यान अफ दि म्याचलाई नगद पुरस्कार नदिने, मेडल र प्रमाण पत्र मात्रै दिने भन्ने निर्णय भएको थियो,’ क्रिकेटका पुर्व राष्ट्रिय खेलाडी समेत रहनु भएका लाक्पाले भन्नुभयो, ‘तर पछि नगरपालिकाले हामीलाई जानकारी नै नदिई फुटबलको म्यान अफ दि म्याचलाई नगद पनि दिने निर्णय गरेछ ।’
फुटबललाई दिने निर्णय भए पछि क्रिकेटलाई पनि म्यान अफ दि म्याचमा नगद पुरस्कार दिनु पर्छ भनेर आफुले प्रस्ताव गर्दा नगरपालिकाले बजेटले नपुग्ने उत्तर दिएको लाक्पाले बताउनु भयो । त्यसो त फुटबल लगायतका अन्य खेलमा दैनिक जसो जनप्रतिनिधि र कर्मचारी नेतृत्वहरु पुरस्कार वितरण गर्न पुगे पनि क्रिकेट खेल हेर्नसम्म पनि अधिकाशं जनप्रतिनिधि र कर्मचारीहरुले खासै चासो नदेखाएको एक जना क्रिकेट खेलाडीले गुनासो गर्नु भयो ।
त्यसैगरी स्पोर्टस् मेनिया अन्तर्गतको फुटबल तर्फ पुरुष र महिलाको पुरस्कार राशी पनि फरक फरक राखेर नगरपालिकाले लैङ्गिक विभेद गरेको महिला फुटबल खेलाडीहरुले आरोप लगाएका छन । पुरुष फुटबलको बिजेतालाई नगद ५० हजार र उपविजेतालाई ३० हजार नगद पुरस्कार राशी राखिएको स्पोर्टस् मेनियामा महिला तर्फको फुटबल विजेता टिमले ३० हजार नगद र उपविजेताले नगद १५ हजार मात्रै पुरस्कार राशी पाएको खेलाडी तथा खेल व्यवस्थापकले बताएका छन ।
सबै खेलका लागि खेल संयोजक तोकिएको र संयोजकले जे बिषय लिएर आए त्यसै अनुसार व्यवस्थापन गरिएको मेचीनगर खेलकुद विकास समितिका उपाध्यक्ष रविन ओझाले बताउनु भयो । ‘फुटबलको संयोजकले म्यान अफ दि म्याचमा नगद पुरस्कार चाहिन्छ भनेर ल्याउनु भयो,’ उपाध्यक्ष ओझाले भन्नुभयो, ‘तर क्रिकेटको संयोजकले नगद पुरस्कारका बारेमा कुरा नगरेकाले त्यस्तो भएको हो ।’ विभेद गर्ने मनसायले त्यस्तो नगरिएको उपाध्यक्ष ओझाको भनाई थियो । फुटबलको महिला र पुरुष तर्फको नगद पुरस्कारका बिषय भने ओझाले स्पष्ट जवाफ दिनु भएन । ‘पहिलो पटक आयोजना गरिएकाले केही त्रृटि भएको हुन सक्छ,’ ओझाले भन्नुभयो, ‘त्यसलाई आगामी दिनमा सच्याउनु पर्छ ।’
मेचीनगर स्पोर्टस् मेनियाका लागि नगरपालिकाले चालु आर्थिक बर्षमा ४० लाख रकम बिनियोजन गरेको छ । त्यस बाहेक पनि प्रत्येक वडालाई खेल तयारीका लागि ५० हजारका दरले जम्मा ७ लाख ५० हजार रुपैया नगरसभाबाट अनुमोदन गराउने गरी कार्यपालिकाले निर्णय गरेर वडालाई उपलब्ध गराईएको नगर खेलकुद विकास समितिका उपाध्यक्ष ओझाले जानकारी दिनुभयो ।