झापा, चैत ७ । मेचीनगरमा सम्पन्न भएको प्रथम मेचीनगर स्पोट्र्स मेनिया २०८० को उपाधी मेचीनगर वडा नं. १० ले उचालेको छ । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको मेचीनगर स्पोट्र्स मेनियामा सर्बाधिक १६ स्वर्ण सहित मेचीनगर १० च्याम्पियन बनेको हो ।
मेचीनगर १० ले प्रतियोगितामा १६ स्वर्ण १ रजत र ३ कास्य पदक प्राप्त गर्यो ।
प्रतियोगितामा मेचीनगर वडा नम्बर ६ ले ९ स्वर्ण सहित दोस्रो भयो । उसले ९ स्वर्ण, १० रजत र १० कास्य प्राप्त गर्यो । त्यस्तै मेचीनगर वडा नम्बर ९ र मेचीनगर ११ समान ८ स्वर्णसहित तेस्रो भए ।
मेचीनगर ९ ले ८ स्वर्ण, ११ रजत र ५ कास्य तथा मेचीनगर ११ ले ८ स्वर्ण, ५ रजत र ९ कास्य पदक प्राप्त गर्यो ।
प्रतियोगितामा मेचीनगर वडा नम्बर ७ ले ६ स्वर्ण, ६ रजत र २ कास्य, मेचीनगर १४ ले ६ स्वर्ण, ५ रजत र २० कास्य, मेचीनगर ८ ले ४ स्वर्ण, ३ रजत र २ कास्य, मेचीनगर ३ ले ३ स्वर्ण, ३ रजत र १० कास्य, मेचीनगर १२ ले ३ स्वर्ण, २ रजत र २ कास्य, मेचीनगर १५ ले ३ स्वर्ण, ८ रजत र ६ कास्य, मेचीनगर ३ ले १ स्वर्ण, ८ रजत र १० कास्य, मेचीनगर २ ले ३ रजत पदक प्राप्त गरे । यता मेचीनगर वडा नं. ५ र १३ भने पदक विहिन भए ।
फागुन २९ गतेदेखि चैत ६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स र चेस खेलमा प्रतिष्पर्धा भएको थियो ।
समापन सत्रमा पदक विजेता खेलाडीहरूलाई मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, सामाजिक विकास संयोजक तथा मेचीनगर खेलकुद विकास समिति संयोजक हृदय राजवंशी, समितिका उपाध्यक्ष रविन ओझा, वडाध्यक्षलगायत जनप्रतिनिधि लगायतले पुरस्कार वितरण गरेका थिए । समापन समारोह नगरका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।