मेचीनगर, चैत ४ । नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले नेपालमा धर्मको मुद्धासंगै युद्ध पनि आइरहेको बताउनु भएको छ । आफैंद्वारा लिखित पुस्तक विकल्पको अन्तरसंवाद कार्याक्रममा हिजो काकरभिट्टामा बोल्दै पुर्व मन्त्री समेत रहनु भएका कार्कीले भन्नुभयो, ‘नेपालमा धर्मको जुन बिषय आइरहेको छ नि, त्योसंगै युद्ध पनि आइरहेको छ ।’ उहाँले धर्मले मानिसलाई कमजोर बनाउने र शिक्षाले मान्छे बलियो बन्ने बताउनु भयो । ‘युद्ध भन्दा अघि संख घण्ट बजाउने गरिन्छ,’ कार्कीले भन्नुभयो, ‘अहिले नेपालमा पनि संघ घण्ट बजाउन थालिएकाले त्यसले युद्ध आउने लागेको संकेत गरेको छ ।’
कार्कीले नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले संघीयता, गणतन्त्र र धर्मनिरपेक्ष पोलेर खाइसकेको आरोप लगाउनु भयो । उहाँले स्थानीय पालिकाहरुमा जनप्रतिनिधिको हातमा बजेट चलाउन सक्ने अवस्था नै नरहेको बताउँनु भयो । ‘सिंहदरबारबाट खटिएर आएको लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृत बाँङ्गियो भने केही काम हुँदैन,’ कार्कीले भन्नुभयो, ‘मेयरको हातमा बजेट नै छैन ।’ उहाँले नेपाली युवाहरु समेत अल्मलिरहेको बताउनु भयो ।
गणतन्त्रसंगै पुँजीवाद पनि आयो ।
अन्तरसंवाद कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य अशेष घिमिरेले लोकतन्त्र र पुँजीवाद संगसंगै जानै नसक्ने बताउँदै नेपालमा गणतन्त्रसंगै पुँजीवाद पनि आएको बताउनु भयो । ‘अहिले राजनितिक दलहरुभित्र पुँजीवादले गाँजेको छ,’ घिमिरेले भन्नुभयो, ‘नेता देवता भए र दर्शन सिद्धान्त गिता भए ।’ नेता घिमिरेले ज्वाई बनाउन नमिल्ने व्यक्तिलाई नेता बनाएर विकल्प देखिरहेको अवस्था आउनु दुखद भएको बताउँदै अबको विकल्प बाम विकल्प र कम्युनिष्ट विकल्प हुनु पर्ने धारणा राख्नु भयो ।
महिला आन्दोलन उग्रवादमा परिणत भयो ।
कार्यक्रममा बोल्दै अर्का बक्ता नेकपा एमाले झापा जिल्ला सदस्य रमा भण्डारीले महिला अन्दोलन उग्रवादमा परिणत भएको बताउनु भयो । उहाँले समतामूलक समाजमा महिला र पूरुषलाई फरक राखेर सोच्नु नपर्ने बताउनु भयो । ‘युवा पुस्तालाई यो देशमा केही हुँदैन भन्ने भावना जगाउने काम भइरहेको छ त्यो गम्भिर गल्ती हुँदैछ,’ भण्डारीले भन्नुभयो, ‘महिला आन्दोलन उग्रवादमा परिणत भइरहेको छ ।’
पार्टी भित्र जोखिम मोलेर विकल्प लेख्नु भयो ।
कार्यक्रममा बोल्दै अध्येता संगित श्रोताले राम कार्कीले पार्टी भित्रको जोखिम मोलेरै विकल्प किताब लेख्नु भएको बताउनु भयो । विकल्प पुस्तक सबै युवाहरुलाई अध्ययन गर्न पनि श्रोताले आग्रह गर्नु भयो । काकरभिट्टा क्याम्पसको सभाकक्षमा सम्पन्न अन्तरसंवाद कार्यक्रमको सञ्चालन तथा विषय प्रवेश लेखक निरोज कट्टलले गर्नु भएको थियो ।