मेचीगनर, चैत २ । सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना छोराछोरीलाई निजि विद्यालयमा पढाउने गरेको भनेर चर्को आलोचना भइरहेको बेला झापाको मेचीनगर नगरपालिकाको एउटा सामुदायिक विद्यालयका शिक्षकहरु भने आफ्ना छोराछोरीलाई पनि आफुले पढाउने विद्यालयमा नै पढाईरहेका छन । मेचीनगर नगरपालिका वडा नं. ३ मा रहेको बलभद्र आधारभुत विद्यालयका शिक्षकहरुले आफ्ना छोराछोरीहरुलाई पनि आफु कार्यरत विद्यालयमा नै पढाइरहेका छन ।
विद्यालयका प्रधानअध्यापक, सहायक प्रधानअध्यापक सहित सन्तान भएका र विद्यालय जाने उमेर पुगेका सबै शिक्षकका छोराछोरीलाई आफैंसंग विद्यालयमा ल्याउने गरेको बलभद्र आधारभुत विद्यालयका प्रधानाध्यापक निरज पोखरेलले बताउनु भयो । प्रधानाध्यापक पोखरेलका अनुसार विद्यालयका ७ जना शिक्षक तथा कर्मचारीका ८ जना छोराछोरी विभिन्न कक्षामा सोही विद्यालयमा अध्ययन गरिरहेका छन ।
‘विद्यालयमा शिक्षक र कर्मचारी गरेर १५ जना छौं,’ प्रधानाध्यापक पोखरेलले भन्नुभयो, ‘छोराछोरी भएका र विद्यालय जाने उमेर पुगेकाहरुलाई आफ्नै विद्यालयमा पढाईरहेका छौं ।’ नर्सरीदेखि नै सोही विद्यालयमा अध्ययन गर्दै आएका प्रधानाध्यापक पोखरेलका छोरा कक्षा ६ मा पढ्छन भने सहायक प्रधानाध्यापक देबु बानियाँकी छोरी नर्सरीमा पढ्छिन, त्यस्तै शिक्षक गिता कटुवालको छोरा कक्षा ६ मा, शान्ता दाहालको छोरा एलकेजीमा, बिष्णु सुनुवारको छोरा कक्षा ५ मा अध्ययन गरिरहेका छन । त्यसैगरी विद्यालयका कर्मचारी अर्जुन मगरको छोरा कक्षा २ मा पढिरहेकी छन भने अर्का कर्मचारी कमला कालिकोटेको छोरी कक्षा ५ र छोरा कक्षा १ मा अध्ययन गरिरहेको सहायक प्रधानाध्यपक देबु बानियाँले बताउनु भयो । शिक्षकले आफ्ना छोराछोरी पढाए मात्र अभिभावकको बिश्वास जित्न सकिने सहायक प्रधानाध्यापक बानियाँले बताउनुभयो ।
‘विद्यालय जाँदा निन्दा खोला तरेर जानु पर्छ,’ बानियाँले भन्नुभयो, ‘तर पनि छोरीलाई आफैले पढाउने विद्यालयमा अध्ययन गराईरहेको छु,, बर्षातका बेलामा केही समस्या हुन्छ तर विद्यालयको पढाईलाई गुणस्तरिय र शिक्षकलाई थप जिम्मेवार बनाउन छोरीलाई आफैंसंग विद्यालयमा लिएर जाने गरेको छु ।’ पत्रकारितामा समेत सक्रिय बानियाँ मेचीनगर ३ कै दोकानडाँढाबाट विद्यालय जानु हुन्छ भने शिक्षक गिता कटुवाल धुलाबारीबाट जानु हुन्छ । खोलामा बाढी आएको बेला धुलाबारी हुँदै घुमेर विद्यालय पुग्ने गरेको सहायक प्रधानाध्यापक बानियाँले सुनाउनु भयो । कक्षा कोठामा कसैले पनि मोबाईल लैजान नपाउने नियम बनाइएको र सबैको मोबाईल अनिवार्य कार्यालयमा नै राखेर कक्षामा जानु पर्ने व्यवस्था गरिएको बानियाँले बताउनु भयो ।
बलभद्र आधारभुत विद्यालयमा आइटी सम्बन्धी पढाइका लागि ३ वटा ल्यापटपको व्यवस्था गरिएको छ भने इन्टरनेटको समेत सुविधा उपलब्ध गराइएको छ । प्रत्येक शनिवार नानीहरुको बुस्टर टेस्ट हुने गरेको छ भने विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म दिवाकालिन होस्टलको समेत विद्यालयले सञ्चालन र बिहान बेलुकाको समयमा कोचिङ कक्षा समेत सञ्चालन गरिरहेको सहायक प्रधानाध्यापक बानियाँले जानकारी दिनुभयो ।
एक सय ७० जना विद्यार्थी अध्ययन गरिरहेको बलभद्र विद्यालयमा गतबर्षदेखि नै सबै शिक्षकले आफ्ना छोराछोरीलाई भर्ना गराएर पढाईरहेको भए पनि यसबर्षदेखि सबै शिक्षकले अनिवार्य रुपमा आफ्ना छोराछोरीलाई आफैंले पढाउने विद्यालयमा नै भर्ना गराएर पढाउनु पर्ने विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक स्टाफ लगायतका पाँचवटा समितिले निर्णय नै गरेको प्रधानाध्यापक पोखरेलले बताउनु भयो ।