फागुन २८ ,झापा । छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा सोमबार भएको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० ले हराउँदै चर्च ब्वाइजले उपाधि उचालेको हो ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा गोल्डकपमा पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको छ । विजेता चर्च ब्वाइजले १३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एपीएफले सात लाख रुपैयाँमा चित्त बुझाएको छ ।
चर्च ब्वाइजका निम्ति अवयामि फाकुन्लेले खेलको ११औँ र ६६औँ मिनेटमा गोल गरे । ८७औँ मिनेटमा राजेश परियारले एक गोल थप्दै चर्च ब्वाइजलाई सानदार जित दिलाए । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको विभागिय टिम एपीएफले गोल गर्ने थुप्रै अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा पराजय भोग्नुपर्यो ।
खेलको म्यान अफ द म्याच बिजेता टिम चर्च ब्वाइजका सुरज जिउ ठकुरी भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए । फागुन १९ गतेदेखि सुरु भएको छैटौं झापा गोल्डकपमा नेपालका ए डिभिजनकासहित १० टिमको सहभागिता रहेको थियो । विधागत पुरस्कारमा पनि चर्च ब्वाइजको बर्चस्व रह्यो ।
चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेण्डर चर्च ब्वाइजका सर्ज डिका, उत्कृष्ट फरवार्डसँगै उच्च गोलकर्ताको पुरस्कार अवयोमी फकुन्लेले पाउँदा एपीएफका शरण बस्नेत उत्कृष्ट मिडफिल्डर भए । यस्तै, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका अध्यक्ष रुवेन राई भए । उदीयमान खेलाडी झापा ११ का कप्तान पेमा तामाङ भए । उनीहरुले जनही नगद २५ हजार पुरस्कार पाए ।
गोल्डकपको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर सञ्जित राई भए । उनले एक थान यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे ।
विजेता तथा उपविजेता टिम र खेलाडीलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, एन्फा अध्यक्ष पंकज नेम्वाङ, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, गोल्डकपका अध्यक्ष विनोद बस्नेत, पूर्वअध्यक्षहरु जलकुमार गुरुङ, महेन्द्रकुमार गिरीलगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए ।