झापा, फागुन २० । झापाको मेचीनगर नगरपालिका क्षेत्रमा ६१ जना मृगौला रोगी रहेका छन । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार नगरभित्र गत आर्थिक बर्ष २०७९/८० मा ४० जनाले डायल्यासिस गराईरहेका थिए भने चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा थप २१ जनाले मृगौलाको डायलासिस गराइरहेको पाईएको छ ।
नगरपालिकामा सरकारी सुविधाको निशुल्क डायल्यासिस सेवा लिनेहरुको तथ्याङ्कको आधारमा अहिले नगरका ६१ जनाले डायलासिस गराइरहेको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताउनु भयो । स्वास्थ्य शाखा प्रमुख सापकोटाका अनुसार मेचीनगर वडा नं. १ मा १ जना, वडा नं. २ मा ५ जना, वडा नं. ४ मा ५ जना र वडा नं. ५ मा १ जनाले मृगौलाको डायलासिस गराइरहेका छन ।
त्यस्तै वडा नं. ६ मा १० जना, वडा नं. ७ मा ६ जना, वडा नं. ८ मा ४ जना, वडा नं. ९ मा ६ जना र वडा नं. १० मा ७ जनाले नियमित डायलासिस गराइरहेका छन । त्यस्तै वडा नं. ११ मा १ जना, वडा नं. १२ मा ५ जना, वडा नं. १३ मा ३ जना, वडा नं. १४ मा ३ जना र वडा नं. १५ मा ४ जना मृगौला रोगीले डायलासिस गराइरहेको मेचीनगर स्वास्थ्य शाखाले जनाएको छ । मेचीनगरको वडा नं. ३ मा अहिलेसम्म डायलासिस गराउने मृगौला रोगी नभएको स्वास्थ्य शाखाको तथ्याङ्कले देखाउँछ ।
मेचीनगरका मृगौला रोगीहरुले झापा सहित देशका विभिन्न अस्पतालहरुमा डायलासिस गराइरहेको स्वास्थ्य शाखाले जनाएको छ । मृगौला रोगीहरुका लागि स्थानीय तहको सिफारिसमा निशुल्क डायलासिस गराउने व्यवस्था सरकारले मिलाएको छ भने एक लाखसम्म उपचार खर्च उपलब्ध गराउने व्यवस्था समेत मिलाएको छ ।