झापा, फागुन १८ । झापाको मेचीनगर नगरपालिका क्षेत्रमा क्षयरोगका बिरामी बढ्दै गएका छन । मेचीनगरमा २०८० साउनदेखि माघ मसान्तसम्म ११३ जना क्षयरोगका बिरामी फेला परेको नगर स्वास्थ्य शाखाका क्षयरोग फोकल पर्सन सदिक्षा भट्टराईले जानकारी दिनुभयो । वहाँका अनुसार नगरका सबै वडाहरुमा क्षयरोगी भेटिएको छ । चालु आर्थिक बर्षमा सबैभन्दा बढी मेचीनगर वडा नं. ६ मा २४ जना क्षयरोगी फेला परेको फोकल पर्सन भट्टराईले बताउनु भयो ।
वहाँका अनुसार वडा नं. १५ मा १४ जना, वडा नं. १० मा १३ जना र वडा नं. ४ मा १२ जना क्षयरोगी फेला परेका छन । त्यस्तै वडा नं. १ मा ५ जना, वडा नं. २ मा ४ जना, वडा नं. ३ मा ३ जना, वडा नं. ५ मा ३ जना, वडा नं. ७ मा ६ जना, वडा नंं. ८ मा ५ जना क्षयरोगी भेटिएका छन भने वडा नं. ९ मा ९ जना, वडा नं. ११ मा ६ जना, वडा नं. १२ मा ५ जना, वडा नं. १३ मा २ जना र वडा नं. १४ मा २ जना क्षयरोगीलाई नगरको स्वास्थ्य शाखाको टिमले फेला पारेको फोकल पर्सन भट्टराईले बताउनु भयो ।
अहिले नगरको स्वास्थ्य शाखाको प्राविधिकहरुले क्षयरोगी खोजी रहेको बेला भएकाले रोगीको संख्या बढ्ने क्रममा रहेको र भेटिएका रोगीको उपचार समेत गर्ने काम तत्कालै सुरु भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख सबिता सापकोटाले बताउनु भयो । प्रमुख सापकोटाका अनुसार क्षयरोगका बिरामीको परीक्षणदेखि उपचारसम्म सरकारले निशुल्क गर्ने व्यवस्था रहेको छ । मेचीनगरका क्षयरोगीहरुका लागि छातीको एक्सरे समेत नगरपालिकाले निशुल्क गर्ने व्यवस्था मिलाएको सापकोटाले बताउनु भयो ।
गत आर्थिक बर्ष २०७९/०८० मा नगरमा २०५ जना क्षयरोगी फेला परेकामध्ये जटिल प्रकृतिको क्षयरोगी ७ जना भेटिएको सापकोटाले बताउनु भयो । चिकित्सको नियमित सम्पर्कमा बसेर ६ महिना औषधी सेवन गर्दा क्षयरोग पूर्ण रुपमा निको हुने स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताउनु भयो ।