झापा मेचीनगर वडा नं. ८ मा रहेको आदर्श माविले भवन निर्माण भइरहेको अवस्थामा नगरपालिकाले संघीय सरकारबाट आउने बजेट रोकिदिएको आरोप लगाएको छ । संघीय सरकारको बिषेश अनुदानमार्फत आदर्श माविमा १८ कोठो भवन निर्माणका लागि ६ करोड ९ लाख १३ हजार ४८६ रुपैयाँ क्रमागत रुपमा आउने गरी बजेट छुट्टीएको थियो । ३ बर्षमा सम्पन्न हुने गरी क्रममागत बजेट अन्तर्गत छुट्टीएको रकम नगरपालिकाले कार्यपालिका बैठकले निर्णय गरेरै रोकेको बिद्यालयले बताएको छ ।
पहिलो किस्ताबाट भवन निर्माणको काम भइरहेको अवस्थामा नगरकार्यपालिकाको बैठकले आदर्श माविलाई थप रकम नचाहिने भन्दै रकम रोक्न संघीय सरकारमा सिफारिस गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण खड्काले बताउनु भयो । विद्यायलले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले भन्नुभयो, ‘पहिलो किस्ता बापतको एक करोड १५ लाख रुपैया आएको थियो, त्यसैले ८ कोठाको भवन निर्माणका लागि ठेक्का मार्फत काम भइरहको छ तर नगरपालिकाले अर्को आर्थिक बर्षदेखि आउने भवन निर्माणको बजेट रोक्न संघीय सरकारमा सिफारिस गरेको छ ।’
पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले भन्नुभयो, ‘दोस्रो चरणको किस्ताका लागि बजेट माग गर्न राष्ट्रिय योजना आयोगमा नगरपालिका मार्फत सिफारिस पठाउनु पर्ने हुन्छ । तर, नगरपालिकाले आदर्श माविलाई सिफारिस गरेन, निर्माण भइरहेको भवनको बजेट नै रोक्ने गरी कार्यपालिकाको निर्णय सहित योजना आयोगलाई सिफारिस पठायो ।’
उक्त बजेट अन्य विद्यालयमा पठाउने नगरपालिकाको योजना छ । तर, यस विद्यालयमा आएको विशेष अनुदानको बजेट अन्य विद्यालयमा लान नसक्ने अध्यक्ष खड्काको पत्रकार सम्मेलनमा बताउनु भयो । नगरपालिकाले तत्काल निर्णय नसच्याए विद्यालय कानूनी उपचारको बाटोमा जाने अध्यक्ष खड्काले बताउनु भयो ।
मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले आदर्श माविको क्रमगतको बजेट रोक्ने निर्णय गरेर पठाएको स्वीकार गर्नु भयो । ‘आदर्श माविको बजेट रोक्ने निर्णय गरेका छौं,’ नगरप्रमुख बुढाथोकीले भन्नुभयो, ‘एउटा विद्यालयको मात्रै भवन बनाउने कुरा भएन, त्यसका कारण नगरपालिकाको बिषेश अनुदानको अरु काम गर्न पाईएन, आदर्श माविमा आउने रकम रोकेर ज्यामिरगढी मावि र शहिद दशरथचन्द्र माविलाई सिफारिस गरेका छौं ।’
आर्दश माविको अहिले निर्माण भइरहेको ८ कोठो भवन सम्पन्न हुने र अर्को आर्थिक बर्षदेखि अन्य आवश्यक भएको विद्यालयहरुमा बिषेश अनुदानमार्फत भवन निर्माण गर्ने योजना अनुसार आर्दश माविको क्रमागतको बजेटका लागि सिफारिस नगरेको नगरप्रमुख बुढाथोकीले बताउनु भयो । नगरपालिकाको माघ २८ गते बसेको कार्यपालिका बैठकले बिषेश अनुदान तर्फको बजेटका लागि आर्दश माविलाई सिफारिस नगर्ने र ज्यामिरगढी मावि र शहिद आदर्श माविलाई सिफारिस गर्ने निर्णय गरेको छ ।