बिर्तामोड, फागुन १७ । यही फागुन १९ गतेदेखि सञ्चालन हुने छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका बुधबार सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै, अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । उद्घाटन खेलको विजेताले सर्लाहीको बागमती युवा क्लबसँग फागुन २१ पहिलो क्वार्टर फाइनल खेल खेल्नेछ । त्यस्तै, फागुन २२ गते नेपाल पुलिस र चर्च ब्वाइजबीच हुने खेलको विजेताले न्युरोड टिम (एनआरटी) सँग दोस्रो क्वार्टर फाइनल खेल खेल्नेछ ।
तेस्रो क्वार्टर फाइनल खेल फागुन २३ गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले दुईपटक ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र एफसीसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम क्वार्टर फाइनल खेल फागुन २४ गते झापा ११ एफसीले एन्फा मकवानपुरसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजक झापा गोल्डकपले जनाएको छ ।
अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्डकपलाई सात लाख रुपैयाँ दिएको छ । हिजो बुधबार गोल्डकपको कार्यालयमा आयोजित संक्षिप्त समारोहका बीच समाजले सात लाख रुपैयाँ बराबरको चेक प्रदान गरेको हो । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पोखरेलले गोल्डकपका अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेललाई चेक हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा गोल्डकपका अध्यक्ष बस्नेतले अन्तर्राष्ट्रिय झापाली समाजलाई खेलकूदका लागि गरेको सहयोग महत्वपूर्ण भएको भन्दै धन्यवाद दिनु भएको हो । स्वागत गोल्डकपका महासचिव पौडेलले गरेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सहजीकरण सचिवालय सदस्य केशव भट्टराईले गर्नु भएको थियो ।