मेचीनगर, फागुन १३ । झापाको काकरभिट्टा माविले नियुक्ती गरेको एक जना शिक्षकको नियुक्ती कानून बिपरित भएको भन्दै उच्च अदालत बिराटनगर इलाम इजलासले बदर गरिदिएको छ । काकरभिट्टा माविले उच्च मावि दरबन्दीमा नियुक्ति गरेका शिक्षक फाल्गुनी दाहालको नियुक्ती बदर गरिदिएको मेचीनगर नगरपालिकाका कानून अधिकृत इन्द्रकमल प्रधानले पुष्टी गर्नु भयो । फाल्गुनीले आफ्नो नियुक्तीलाई सदर गरी पाउँ भनि हालेको रिट माथि २०८०/११/८ गते अन्तिम फैसला गर्दै अदालतले नियुक्ती कानूनसम्मत नभएकाले उक्त नियुक्तीको सम्पूर्ण प्रक्रिया नै बदर गरिदिएको कानून अधिकृत प्रधानले बताउनु भयो । ‘अदालतको फैसालले माविले नियुक्तीका लागि गरेको सम्पूर्ण प्रक्रिया नै बदर गरिदिएको छ,’ प्रधानले भन्नुभयो, ‘पूर्णपाठ आएको छैन, पूर्णपाठमा अब कसरी अगाडी बढ्ने भन्ने समेत आउँछ होला ।’
काकरभिट्टा माविले २०७९ फागुन ५ गते उच्च मावि दरबन्दीमा शिक्षक पदपुर्तिका लागि सूचना जारी गरेको थियो । उक्त सूचनाका आधारमा लिएको परीक्षमा अन्य प्रतिस्पर्धीलाई पाखा लगाउँदै २०७९ फागुन २६ गते ४० बर्ष उमेरहद काटीसकेका फाल्गुनी दाहाललाई विद्यालय व्यवस्थापन समितिले नियुक्ती गरेको थियो । उक्त नियुक्तीलाई जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई झापाले अभिलेखिकरण नगरे पछि मेचीनगर नगरपालिकाको शिक्षा शाखाले तलब भुक्तानी गर्न नमिल्ने जनाएको थियो ।
उक्त नियुक्ति बिरुद्ध सोही परीक्षमा सहभागि भएर छनौट समितिको बैकल्पिकको सूचीमा पर्नु भएका अनुज दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्नु भएको थियो । सो उजुरीमा अख्तियारले पुन सूचना निकालेर अर्को शिक्षक नियुक्ती गर्न निर्णय सहितको पत्र जिल्ला प्रशासन झापामार्फत विद्यालयलाई पठाएको थियो ।
अख्तियारको निर्णय बिरुद्ध फाल्गुनी दाहालले अख्तियारको इटहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई झापा, मेचीनगरको शिक्षा शाखा, विद्यालय व्यवस्थापन समितिलाई समेत विपक्षी बनाई उच्च अदालत बिराटनगर इलाम इजलासमा २०८०/२/२५ गते आफ्नो नियुक्ती कानून सम्मत भएकाले सदर गरिपाउँ भनि रिट निवेदन दर्ता गराउनु भएको थियो ।
सोही रिटको अन्तिम फैसला गर्दै उच्च अदालतले फाल्गुनीको नियुक्ती कानून बिपरीत भएको ठहर गर्दै विद्यालयले फाल्गुनीलाई नियुक्ती गर्न अपनाएको सम्पूर्ण प्रक्रिया बदर गरिदिएको हो । उक्त शिक्षक नियुक्तीका लागि लिईएको परीक्षमा फाल्गुनी सहित अनोज दाहाल, पारस दाहाल, रोहित बराल र नविन गौतम सहभागि हुनु भएको थियो ।
यो पनि पढ्नुहोस https://www.setopatra.com/detail/4101