मेचीनगर, फागुन १० । हात्तीको आक्रमणबाट बर्षेनी क्षति व्यहोरी रहेका झापाको बाहुनडाँगीका स्थानीयले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई ११ बुँदे ज्ञापन पत्र बुझाएका छन । बाहुनडाँगीको प्रसादगौंडादेखि उदयपुरको बेलसोतसम्मको हात्तीमैत्री पदयात्राका लागि बुधबार बाहुनडाँगी पुग्नु भएका मुख्यमन्त्री कार्कीलाई स्थानीयहरुले ११ बुँदे माग पत्र बुझाएका हुन ।
नागरिक समाजका अध्यक्ष एवम बाहुनडाँगी गाविसका तत्कालीन अध्यक्ष निलकण्ठ तिवारीले ज्ञापन पत्र बाचन गरी मुख्यमन्त्री कार्कीलाई बुझाउँदै ज्ञापन पत्रमा उल्लेख गरिएको मागहरु बाहुनडाँगी बासीको साझा बिषय भएकाले त्यसलाई पूरा गर्न प्रदेश सरकार र स्यवम मुख्यमन्त्री गम्भीर बन्न आग्रह समेत गर्नु भयो ।हात्ती नियन्त्रणका लागि सीमा क्षेत्रमा लगाइएको सौर्य विद्युतीय तारबार मर्मत, सम्भार र संरक्षणका लागि नियमित बजेटको व्यवस्था गरिदिनु पर्ने बाहुनडाँगीबासीको पहिलो माग छ ।
यसैगरी, सीमामा लगाइएको तारबार छेउको पहुँच मार्गलाई स्तरोन्नति गर्न बिनियोजन गरिएको २५ लाख बजेट अपुग भएकाले थप बजेटको व्यवस्था शीघ्र गरिदिनु हुन र हात्तीलाई बासस्थानमा फर्काउन स्कर्टिङ भेहिकलको व्यवस्था गरिदिन उनीहरुको दोस्रो माग रहेको छ ।
हात्ती प्रभावित बस्तीमा चम्किलो बत्तीको व्यवस्था गर्न, हात्तीले नखाने बनस्पति रोप्नका लागि सामुदायिक बनहरुलाई समन्वय गर्न, बाली लगायतको क्षतिपूर्तिका लागि बिमाको पहल गरिदिन, चिया लगायतका बैकल्पिक बालीको प्रवर्धन र बजारिकरणको व्यवस्था गरिदिन, सामूहिक खेतीका लागि बजेट व्यवस्था गरिदिन, जनताको तटबन्धन कार्यक्रमलाई निरन्तरता दिन, ऐलानी जग्गामा भएको क्षतिको समेत राहत उपलब्ध गराउन, सौर्य तारबार र हात्तीलाई बासस्थानमा फर्काउन खटिने जनशक्तिलाई पारिश्रमिकको व्यवस्था गर्न, एक्ले हात्तीहरुलाई रेडियो कलर लगाउने र आवश्यक परे स्थानान्तरण गर्ने व्यवस्था मिलाउन र मेचीनगर–४ लाई मानव–हात्ती सहअस्तित्वको असल पाठशालाको रुपमा नमुना गाउँ बनाउन बाहुनडाँगी बासीले माग गरेका छन ।
मागपत्रमा मेचीनगर–४ का वडाध्यक्ष सहित वडा नं. ४ का सबै राजनितिक दलका अध्यक्षहरु, मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष, स्थानीय अगुवा समाजसेवीहरु र आर आर टीका संयोजकले हस्ताक्षर गर्नु भएको छ ।