बिर्तामोड, फागुन ९ । यही फागुन १९ गतेदेखि सुुरु हुने झापा गोल्डकपको छैठौं संस्करणको ट्रफि आज सार्वजनिक गरिएको छ । डोमालाल राजबंशी रंगशालामा भएको पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, फुलबल प्रशिक्षक भगिरथ आले, राष्ट्रिय टिमका प्रशिक्षक प्रवेश कटुवाल लगायतले आज गोल्डकपको बिजेताले पाउने ट्रफि सार्वजनिक गरेका हुन ।
यो पटकको ट्रफि झापा गोल्डकपकै लागि डिजाईन गरिएको अध्यक्ष बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनकाबीच गोल्डकपमा प्रतिस्पर्धा गर्ने टिमहरु सार्वजनिक गरिएको हो । अध्यक्ष बस्नेतका अनुसार प्रतियोगितामा ए डिभिजनसहित नेपालका १० वटा टिमको सहभागिता रहनेछ ।
छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ । त्यस्तै, विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष बस्नेतले बताउनु भयो ।
प्रतियोगितामा गत सिजनको सहिद स्मारक ए डिभिजन लिग विजेता टिम चर्च ब्वाइज युनाइटेड एफसी, मछिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसीले सहभागिता जनाउने छन ।
यो संस्करणमा पहिलो पटक मोफसलका दुई टिमले सहभागिता जनाउने छन । सर्लाहीको बागमती युवा क्लब र हेटौँडाको एन्फा मकवानपुरले झापा गोल्ड खेल्ने पक्का भएको बस्नेतले बताउनुभयो ।
ट्रफी र टिम सार्वजनिक गर्नका लागि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतसहित झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, गोल्डकपका संरक्षक तथा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, राष्ट्रिय फुटबल टिमका प्रशिक्षक प्रवेश कटवाल, गोल्डकपका सल्लाहकार मदनगोपाल सुब्बा, वरिष्ठ उपाध्यक्ष बलराम कार्की लगायतको उपस्थीति थियो ।