बाहुनडाँगी, फागुन ९ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसादगौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गर्नु भएको छ । जीव, जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ नेपाल भारत सीमाको मेची खोला किनारस्थीत प्रसादगौंडाबाट बुधबार पदयात्रा शुरु भएको हो । हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटन विकास गर्ने पदयात्राको उद्देश्य रहेको बताइएको छ ।
कोशी सरकारले पर्यावरण संरक्षण गर्ने उद्देश्यसहित जसको जंगल उसको मंगल कार्यक्रम बजेटमार्फत नै अघि सारेको छ । शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कार्कीले हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा शुरु गरिएको बताउनु भएको छ । ‘जनता र हात्ती दुबैलाई दुःख नहुने गरी समस्या समाधान खोज्न हामी गाउँ बस्तीमा आफै आएका हौं, छलफल गरेर योजना बनाउन र बजेट बनाउन आएका हौं,’ उहाँले भन्नुभयो, जीव, जंगल, जनावर, मानिस सबैको संरक्षण गर्ने अभियान हो । समस्या पहिचान गर्ने प्रयास हो । सिंगो सरकार जनताको ठाउँमा समस्या हेर्न आएका हौं । दुःख बुझ्न आएका हौं ।’
सबैभन्दा बढी मानिसले ज्यान गुमाएको ठाउँमा आइ दुःखको कुरा सुन्दै अघि बढ्ने र हात्तीको ज्यानको पनि संरक्षण गरिने मुख्यमन्त्री कार्कीले बताउनुभयो । सरकारले जनता, बाली र घर बीमा कार्यक्रम कार्यान्वयन गर्ने योजना मुख्यमन्त्री कार्कीले सुनाउनु भयो । बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुनेछ । पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आम नागरिकहरुको सहभागिता छ । मुख्यमन्त्री कार्कीले जैविक मार्गमै पर्ने सात स्थानमा रात्रिकालीन विश्राम गर्नेछन ।
एसियन हात्तीहरू वर्षेनी भारतको आसामबाट मेचीनदी पार गरी झापा जिल्लाको बाहुनडाँगीका विभिन्न चारवटा गौंडाबाट नेपाल प्रवेश गर्ने गर्दछन । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर आवतजावत गर्ने क्षेत्रमै मुख्यमन्त्री कार्कीले पदयात्रा तय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यसक्रममा मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म कूल २४३ किलोमिटर पैदल यात्रा गर्ने रुट तय गरिएको छ । यस क्रममा मुख्यमन्त्री कार्कीले चार जिल्लाका विभिन्न २३ स्थानीय तह पुगी स्थानीय जनतासँग साक्षात्कार गर्नु हुनेछ । ‘उहांहरूको समस्याबारे प्रत्यक्ष जानकारी लिन्छु,’ कार्कीले भन्नुभयो, ‘बाहुनडाँगी अध्ययन गर्ने स्थल पनि बनोस भन्ने सरकारको चाहना छ ।’ मानव जीवनको उत्पत्तिदेखि नै प्रकृति, वनजङ्गल, अन्य जीवजन्तु र मानवबीच अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ ।
पछिल्लो समय मानव हात्तीबिच द्वन्द्व बढ्दै गएको छ । सदियौंदेखि दक्षिण एसियाको नेपाल र भारतको आसाम तथा पश्चिम बङ्गाल क्षेत्रमा सयकडौँको सङ्ख्यामा एसियाली हात्तीहरुको प्राकृतिक वासस्थानमा विचरण गर्दै आउँछन । कोशी प्रदेशका चार जिल्लामा पछिल्लो पाँच दशकयता यी जिल्लाहरूमा जनसङ्ख्या वृद्धि र मानवीय विकासको आवश्यकताको चाप सँगसँगै हात्तीको जैविक मार्गको सङ्कुचन र प्राकृतिक बासस्थानको क्षयीकरण भएको छ । झापामा मात्र २०६७ यता हात्तीसंगको द्वन्द्वमा ६५ जना र २१ हात्तीको मृत्यु भएको छ । यसले गर्दा एकातिर हात्तीले मानवीय घरगोठ, खेतबारी तथा अन्नबाली विनाश गर्ने र मानवीय क्षति पुर्याउँदै आएको छ भने अर्कोतर्फ विभिन्न दुर्घटना, शिकार तथा प्रतिशोधजन्य कारणबाट वर्षेनी हात्तीको समेत मृत्यु हुने गरेको छ ।
हात्तीको प्राकृतिक बासस्थानको संरक्षण गर्दै मानवीय क्षति न्यूनीकरणका लागि अभियान सार्थक हुने प्रदेशस्थित पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,“हालसम्मका अनुभवबाट सिकेर असल प्रयासहरूलाई निरन्तरता दिँदै संरक्षण एवम मानव–हात्ती सहअस्तित्वलाई अझ सफलीभूत बनाउने हाम्रो प्रयास हो । यो सबैको जिम्मेवारी पनि हो ।”
प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीको सभापतित्वमा सम्पन्न पदयात्रा शुभारम्भ कार्यक्रममा प्रदेश सांसद सबिना बजगाई, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर वडा नं. ४ का अध्यक्ष अर्जुनकुमार कार्की, मानव हात्ती द्वन्द व्यवस्थापन तथा वतावरण संरक्षण मञ्चका अध्यक्ष सागर कार्कीलगायतले मुख्यमन्त्रीको हात्तीमैत्री पदयात्राले हात्तीको समस्या समाधानमा ठोस पहल हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रम शुभारम्भमा कृषिमन्त्री रामकुमार खत्री, भौतिक पूर्वाधार मन्त्री कमल जबेगु, हात्ती पीडित परिवारकी जगनमाया थापालगायत सहभागी थिए । गाइनेहरुले हात्ती तथा पर्यावरण संरक्षणको सन्देशमुलक गीत गाएर अभियान शुरु गरिएको थियो ।