बाहुनडाँगी, फागुन ८ । जंगली हात्तीको नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले भोलिदेखि गर्ने हात्तीमैत्री पदयात्राले हात्ती समस्या समाधान हुने बाहुनडाँगी बासीले अपेक्षा गरेका छन ।
मेचीनगर वडा नं. ४ का स्थानीय, जनप्रतिनिधि, राजनितिक दलका प्रमुख तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले मुख्यमन्त्रीको पदयात्राले बाहुनडाँगी क्षेत्रमा हुने हात्ती आतङ्कको दीगो समाधान हुने विश्वास लिएको आज आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
मुख्यमन्त्री कार्कीको हात्तीमैत्री पदयात्राका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले हात्तीले बषौंदेखि दिएको दुःखका बारेमा मुख्यमन्त्रीको गम्भिर ध्यानाकर्षण हुनु सकारात्मक रहेको बताउनु भयो । बाहुनडाँगीमा बषौंदेखि सयौंको संख्यमा हात्ती आउँथ्यो, वडा अध्यक्ष कार्कीले भन्नुभयो, ‘यसपाली बाहुनडाँगीबाट छिरेको हात्तीको समूहले मोरङ र सुनसरीमा मच्चाएको बबण्डर र धनजनको क्षतिका कारण मुख्यमन्त्रीको ध्यानाकर्षण भएको हामीले बुझेका छौं, जे जसरी भए पनि मुख्यमन्त्रीले हात्तीको समस्या समाधानमा पहल लिनु हाम्रालागि राम्रो कुरा हो ।’
कार्यक्रममा बाहुनडाँगी नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारी, मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष सागर कार्की, सामाजिक तथा राजतिक अगुवाहरु रमेशकुमार दाहाल, गोबिन्द न्यौपाने, निरज घिमिरे, हरि उप्रेती र विभिन्न राजनितिक दलका वडाका अध्यक्षहरुले मुख्यमन्त्रीको पदयात्राले हात्तीको समस्या दीगो रुपमा समाधान हुने विश्वास लिएको बताएका छन ।
पत्रकार सम्मेलनमा सहभागि बाहुनडाँगीका अगुवाहरुले भने, ‘मुख्यमन्त्रीलाई स्वागत छ, वहाँले हात्तीको पीडाको समाधानमा के भन्नुहुन्छ र के गर्नु हुन्छ भन्ने हेर्न बाँकी छ ।’
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले भोलि फागुन ९ गते बाहुनडाँगीको प्रसाद गौंडाबाट उदयपुरसम्मको हात्तिमैत्री पदयात्रा शुरु गर्दै हुनुहुन्छ ।