काकरभिट्टा, फागुन ६ । मेचीनगर–६ काँकरभिट्टाको शान्ति–रमाइलो गाउँको शिव पातालगंगा मन्दिरमा आजदेखि श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुँदैछ । शिव पातालगंगा मन्दिर समिति र सदगुरु मानव सेवा फाउण्डेशन मेचीनगर–३ को संयुक्त आयोजनामा आइतबारदेखि ७ दिने पुराण सुरु हुने भएको हो । हिजो मन्दिर परिसरमा समितिले पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी गराएको छ ।
सद्गुरु मानव सेवा फाउण्डेशनका अध्यक्ष आचार्य पण्डित मुकुन्द नेपालले मन्दिरको व्यवस्थापन तथा हात–खुट्टा, श्रवण शक्ति नभएका असक्त–अपाङगहरुलाई कृतिम हात–खुट्टा ह्वील चियर सहयोगका लागि अक्षयकोष स्थापना गर्ने उदेश्यले पुराण सुरु गर्न लागिएको बताउनु भयो । मेचीदेखि महाकालीसम्म यो अभियानकै रुपमा पुराण लगाउने अध्यक्ष नेपालले पत्रकार सम्मेलनमा बताउनु भयो । १५ वर्षदेखि निरन्तर रहेको अभियान अन्तर्गत काँकरभिट्टाको पुराणपछि झापा र इलामको ६ ठाउँमा पुराण लगाईने बताइएको छ । पुराणको पहिलो दिन कलशयात्रा गरिने कार्यक्रम छ ।
मेची नदीको जल लिएर मन्दिरमा चढाएर पुराण विधिपूर्वक सुरु हुनेछ । एकहप्ताको पुराण आयोजना गर्न करिव ५ देखि ७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान समितिले गरेको छ । सद्गुरु मानव सेवा फाउण्डेशनका सञ्चालक सचिन निरौलाले हात–खुट्टा नभएका, दुःखमा परेकाहरुको कृतिम हात–खुट्टा, ह्वीलचियर र बैशाखीहरु उत्पादन गरेर उद्योग स्थापना गर्ने अभियानको लक्ष्य रहेको बताउनुभयो ।
शिव पातालगंगा मन्दिर समितिका सदस्य राजु कार्कीले ०४५ सालको भुकम्पपछि अलिक ओझेलमा परेको एतिहासिक धार्मिक स्थलको पहिचान स्थापित गर्न पनि यो अभियानमा जोडेर पुराण आयोजना गरिएको बताउनुभयो । ०४५ सालअघि काँकरभिट्टाबासीले कालीखोलाको पातालगंगा मन्दिरमा पुजा गर्ने र पानी खाने ठाउँका रुपमा परिचित रहेको कार्कीको भनाई छ ।
शिव पातालगंगा मन्दिर समितिका संरक्षक शंकर भट्टराईले मन्दीर परिषरमा नव ग्रहको मन्दिर र २२ धारा निर्माण गर्ने उदेश्य पनि रहेको जानकारी दिनुभयो । शिव पातालगंगा मन्दिर समितिका अध्यक्ष एवम पुराण मुल आयोजक समितिका संयोजक प्रेमरत्न चुडालको अध्यक्षता सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन पण्डित देवराज निरौलाले गर्नु भएको थियो ।