सुरुङ्गा, फागुन ४ । झापाको सुरुङ्गामा कला, संस्कृती र साहित्य महोत्सव आयोजना गरिने भएको छ । फागुन १४ गते सुरु हुने कनकाई कला, संस्कृति र साहित्य महोत्व तीन दिनसम्म सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा हुन लागेको कला साहित्य महोत्सवका माध्यमबाट कनकाई नगरपालिकाको साहित्य, सस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्देश्य रहेको कार्यक्रमका बारेमा जानकारी दिने उदेश्यले आयोजित पत्रकार सम्मेलनमा रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेलले बताउनु भयो ।
महोत्सवमा पहिलो दिन स्थानीय साहित्यकारहरूको प्रस्तुति रहने छ । दोस्रो दिन जिल्लाका विभिन्न भागमा रहनुहुने साहित्य सर्जकहरूको प्रस्तुती रहने छ भने तेस्रो दिन राष्ट्रिय स्तरमा ख्यातिप्राप्त एक दर्जन साहियकारहरूको प्रस्तुति रहने महोत्सव संयोजक अखिलकुमार कोईरालाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । स्थानीयदेखि केन्द्रसम्मका प्रतिनिधि साहित्यकारहरूको प्रस्तुतिले साहित्यचेत अङ्कुरण हुन थालेका नयाँ पुस्तालाई अभिप्रेरित गर्ने र कनकाई क्षेत्रमा साहित्यले अग्रगमनको यात्रा तय गर्ने विश्वास लिएको संयोजक कोइरालाले बताउनु भयो ।
रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेलको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेलले २०५१ सालदेखि कनकाई प्रतिभा प्रतिष्ठान गठन गरेर साहित्यीक गतिविधि गरिरहेको भए पनि साहित्यको महोत्सवले धेरै मानिसमा सकरात्मक सन्देश प्रभाव गर्ने बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदीले आफुहरुले गर्न नसेको साहित्य महोत्सव रोटरी क्लबले गर्ने भए पछि प्रतिभा प्रतिष्ठानले महोत्सवलाई सफल बनाउन सबै पक्षबाट सहयोग गर्ने बताउनु भयो । रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्ष कुमारमणी पोखरेलले साहित्य महोत्सव आयोजनाका लागि २५ लाख ४५ हजार रकम लाग्ने अनुमान गरिएको भए पनि अहिलेसम्म प्रयोजक र सहप्रायोजकका बारेमा सहमति नभएको बताउनु भयो । पोखरेलका अनुसार प्रायोजनका लागि केही व्यवशायीक प्रतिष्ठानहरुसंग कुरा भइरहेको छ ।
कला साहित्य महोत्सवमा अग्रज साहित्यकारहरू तुलसी दिवस, अर्जुन पराजुली, डा.रामप्रसाद ज्ञवाली, डा.देवी नेपाल, मनु मञ्जिल, धीरेन्द्र प्रेमर्षि, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेट्वाल, गीतकार शिशिर योगी लगायतका साहित्यकारहरु र सङ्गीत सर्जकहरू उपस्थित हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । त्यस्तै फागुन १४ र १५ गतेको साँस्कृति कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, उदयीमान गायिका रचना रिमाल जस्ता सुपरिचित सङ्गीत सर्जकहरू र स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।
पशुपति मावि सुरुङ्गामा फागुन १६ गते सम्पन्न हुने महोत्सवमा साहित्य गोष्टी, कक्षा ६-१२ का विद्यार्थी र इच्छुक युवाका लागि कविता लेखन प्रशिक्षण, हास्यव्यङ्ग सहित सांस्कृतिक कार्यक्रम, पुस्तक मेला, पुस्तक डोनेसन कार्यक्रम्, कविता लेखन प्रशिक्षक प्रशिक्षण, कविता वाचन कार्यक्रम र जातिय भेषभूषा प्रदर्शन सहित शान्ति तथा एकता ¥याली सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । पत्रकार सम्मेलनको सञ्चालन रोटरी क्लब अफ सुरुङ्गाका सचीव बिनिता मैनालीले गर्नु भएको थियो ।