कुनै बेला थियो, सूचनाको स्रोत मुख्य रुपमा रेडियोमा नै निर्भर थियो । सहरी क्षेत्रमा केही अखबारहरु पुग्ने गरे पनि देशका दूरदराजका मानिसका लागि सूचना पाउन रेडियोमा नै भर पर्नु पर्ने थियो । रेडियो नेपालको स्थापनापछि नेपालका दूरराजका गाउँहरुका लागि काठमाडौँको सूचना नजिकै पुगेको थियो भने केहीपछि स्थानीय एफएम रेडियोको स्थापनाले त आफ्नै गाउँ ठाउँका सूचना र समाचारहरुले काठमाडौँसम्मलाई सुनाउन थालेका थिए । तर विकासकै क्रममा रेडियोहरु विस्तारै कम सुनिन थालिए वा भनौं रेडियो सुन्ने शैली फेरिँदै गयो । प्रविधिको विकासले फड्को मारेसँगै रेडियोबाट पाउने थुप्रै सूचना र समाचार हरेक मानिसले आफ्नै हातको मोबाइलबाट पाउन थाले । कुनै बेला ६०० भन्दा बढी रेडियो प्रसारणमा रहेकोमा अहिले आधाभन्दा धेरै रेडियोहरु बन्द भएका छन् । केही रेडियोहरु बिहान र बेलुका मात्रै प्रसारण गरेर दिउँसो बन्द गरेर पनि सञ्चालनमा आएका छन् ।
कुनै बेला रेडियो नसुनी दैनिकी नबिताउनेहरुले अहिले मोबाइलमार्फत देश दुनियाँको खबर थाहा पाउन थालेका छन् । अहिले इन्टरनेट र स्मार्ट फोन बिनाको जीवन धेरैका लागि कल्पना गर्न नसकिने विषय बनेको छ । यसरी भनौँ कि अबको दुनियाँमा स्मार्ट फोन नै मानिसको दैनिकी हो भन्दा फरक नपर्ला । किनकि धेरै मानिसले आफ्नो कार्यालयको कामदेखि पारिवारिक जिम्मेवारी समेत मोबाइलबाट नै पूरा गरिरहेका हुन्छन् भने परोपकारी काममा पनि मोबाइल फोनबाट नै गरिरहेका हुन्छन् । विभिन्न प्रकारका सामाजिक सञ्जाल र समाचार पोर्टलहरु मोबाइलमार्फत नै मानिसले हेरिरहने भएकाले पनि आममानिसको दैनिकी स्थानीय एफएम स्टेसनहरुबाट विस्तारै मोबाइलतर्फ मोडिएको छ । त्यसमा केही हदसम्म प्रविधिले भित्र्याएको सहजता छ भने केही चाहिँ रेडियो प्रसारकहरुले सामग्री आम स्रोताको मागअनुसार उत्पादन नगरेका कारण पनि मानिसहरु रेडियोबाट टाढिदैं गएको देखिन्छ ।
अहिले पनि बिहान र बेलुकाको समयमा ठूलो संख्यामा मानिसले स्थानीय रेडियोबाट नै सूचना र समाचार थाहा पाइरहेका छन् । प्रविधिको बढ्दो प्रयोगसँगै अहिले आम मानिसहरु कुन सूचना सही र कुन सूचना गलत हो भनेर छुट्याउन नसक्ने अवस्थामा पुगेका छन् । सामाजिक सञ्जालमा बढ्दो पहुँचसँगै सूचनाको बाढी पनि सँगै बढेको छ । हिजोआज सामाजिक सञ्जालमा यति धेरै सूचनाहरु आइरहेका हुन्छन् कि त्यसमध्ये कुन पत्याउनु पर्ने हो र कुन नपत्याउनु पर्ने हो भन्ने अवस्थाको सिर्जना भएको छ । भनिन्छ, नचाहिँदो सूचनाले पनि क्षति पु¥याउँछ । अहिलेको अवस्थामा एकातिर चाहिनेभन्दा नचाहिने सूचना आइरहेको छ भने अर्कातिर गलत समाचार र सूचना (फेक न्यूज)को पनि बाढी लागेको छ । गलत सूचनाका कारण सामान्य असावधानीले पनि ठूलो क्षति पुर्याउन थालेको छ । केही दिनअघि मात्रै भारतीय अभिनेत्री पुनम पाण्डेको मृत्यु सम्बन्धी समाचार यसरी भाइरल भयो कि अभिनेत्री पुनममा लाखौं शुभचिन्तकहरुलाई गहिरो चोट पुर्यायो । तर, त्यो समाचार गलत थियो । यतिसम्म कि त्यो गलत समाचार स्वयम् अभिनेत्री पुनमले नै सार्वजनिक गराएकी थिइन् । करिब ३० घण्टापछि वास्तविक रुपमा अभिनेत्री पुनम जिउँदै रहेको अर्को भिडियो सार्वजनिक भयो । जसमा पुनम आफैँ बोलेकी थिइन् । यो त भयो ताजा घटना । यस्ता थुप्रै समाचार र सूचना छन् जुन सामाजिक सञ्जालको दुरुपयोग गरेर संसारभर फिजाइएको हुन्छ । त्यसैले त्यस्ता समाचारहरु अब कसरी चिन्ने भन्ने कुरा अहिलेको पेचिलो विषय बनेको छ ।
कोरोनाको महामारीपछि नेपालका छापा माध्यमको बजारमा उपस्थिति अत्यन्तै कमजोर बन्दै गएकाले पनि सही सूचना छुट्याउन थप समस्या परेको देखिन्छ । कहाँ बसेर कसले लेखेको समाचार वा सूचना हो त्यो सामाजिक सञ्जालमा हेरेर मात्रै सहजै छुट्याउन सकिने अवस्था हुँदैन । एउटा कोठामा बसेर संसारभर सूचना र समाचार पुर्याउन सक्ने तागत इन्टरनेट र स्मार्ट फोनमा छ तर त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । हाम्रो जस्तो समाजमा सूचनाहरु पुस्ट्याइँ गर्ने भरपर्दो माध्यम छैनन् । जे कुरा पनि पत्याइहाल्ने हाम्रो समाजको मनस्थितिका कारण पनि अहिले गलत सूचनाले हाम्रो समाज आक्रान्त बनेको छ । बजारमा व्याप्त गलत सूचना र समाचारलाई पुस्ट्याई गर्ने अब एउटै माध्यम भनेको स्थानीय एफएम रेडियोहरु नै हुन् । स्थानीय रेडियोहरु सबैले थाहा पाउने गरी र देखिने गरी आफ्नै गाउँ ठाउँमा स्थापना गरेर प्रसारणमा रहेका हुन्छन् । उनीहरु आफ्नो समुदायप्रति बढी जिम्मेवार हुन्छन् ।
स्थानीय रेडियोहरुले गलत सूचना दिनै सक्दैनन् किनकि उनीहरुलाई तत्कालै आफ्नो समाजले प्रश्न गर्न सक्ने अवस्था हुन्छ । स्थानीय रेडियोहरुले स्थानीय विषयवस्तुसँगै आम मानिसको चासोका सबैखाले समाचार र सूचना उपलब्ध गराइरहेका हुन्छन् । प्रविधिको प्रयोगले रेडियोहरु पनि सूचना लिन विगत भन्दा थप सक्षम हुँदै गएका छन् । प्रसारक र रेडियोकर्मीहरु अधिकांश स्थानीय व्यक्तिहरु नै हुने भएकाले पनि उनीहरुले पुष्ट्याइँ भएको सूचना मात्रै रेडियोबाट प्रसारण गर्छन् । त्यसैले पनि सूचना र समाचारको बाढीमा सही र गलत सूचना तथा समाचार छुट्याउन अब स्थानीय रेडियोमा भर पर्न सकिन्छ । या भनौं स्थानीय मानिसहरुले आफ्नै नजिकको रेडियोहरुको भरपुर उपयोग गरेर सही सूचना बाहिर ल्याउन सकारात्मक हुन जरुरी भइसकेको छ । गतल सूचनाको भयावह रुप बाहिर आउनुभन्दा अगावै स्थानीय रेडियोहरुलाई थप जिम्मेवार बनाएर प्रसारणमा केन्द्रित गर्ने हो भने गलत सूचनाका कारण जनजीवन प्रभावित बन्न पाउँदैन ।
छिमेकी देश भारत जो हामी भन्दा प्रविधिका हिसाबले धेरै अगाडि छ । त्याहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनअघि मात्रै देशका ११३ वटा स्थानीय रेडियोहरु एकैसाथ उद्घाटन गर्नु भयो । एउटा रेडियोको लागत मात्रै करिब ३ करोड भारतीय रुपैयाँ रहेको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । नेपालमा भएका रेडियोहरु बन्द हुँदै गर्दा भारतमा किन सरकार आफैं रेडियो खोल्न थालेको छ भन्ने विषयको पछिल्तिर गलत सूचनाबाट आम मानिसलाई जोगाउनु नै रहेको विज्ञहरुले तर्क गरेका छन् । भारतीय सञ्चारविद्हरुले धेरैभन्दा धेरै स्थानीय रेडियोहरु मार्फत सही सूचना प्रसारण गर्दा सामाजिक सञ्जाल र स्मार्ट फोनमार्फत आउने अन्य गलत सूचनाबाट आम मानिसलाई जोगाउन सकिन्छ भन्ने निष्कर्षका साथ भारतले पछिल्लो दुई वर्षमा मात्रै करिब २०० स्थानीय रेडियो सञ्चालनमा ल्याइसकेको छ । युरोप र अमेरिकामा पनि स्थानीय रेडियो सुनेर नै मानिसहरु मौसमका बारेमा थाहा पाउने गरेका छन् भने अन्य विशेष जानकारी पनि रेडियोबाटै सुन्ने गरेका छन् । व्यस्त जीवनमा रेडियो सुन्नलाई आफ्नो काम नै छोड्नु पर्ने हुँदैन । कामसँगै रेडियो सुन्न सकिने भएकाले पनि रेडियोहरुको प्राथमिकता बढ्ने क्रममा पुगेको छ । तर हाम्रो देशमा अझै पनि स्थानीय रेडियोहरुलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन सकेको छैन । संघीयतापछि साधन र स्रोत स्थानीय सरकारहरुमा आएर थुप्रिएको छ तर ती सरकारहरुले स्थानीय रेडियोको सही उपयोग गर्न अझै जानेका छैनन् । नगरपालिका र गाउँपालिकाहरुले स्थानीयस्तरका रेडियोको प्रसारणलाई भरपुर उपयोग गर्ने हो भने त्यसले उनीहरुमा देखिएको आम नागरिकसम्मको पहुँचको कमी त पूरा हुन्छ नै त्यस बाहेक पालिकाहरुले दिने सूचना पनि छिटो, सरल र सजिलो तरिकाले स्थानीयहरुसम्म पुग्छ । जसबाट विकास निर्माणदेखि सामाजिक सचेतनाको काममा समेत स्थानीय रेडियोहरु सहयोगी बन्न सक्छन् । अबका दिनमा सही सूचना थाहा पाउन र विकास निर्माणका कार्यमा स्थानीय समुदायलाई जोड्न पनि स्थानीय रेडियोहरुको भरपुर उपयोग गर्न जरुरी छ । त्यसैले अब यस्तो अवस्थामा हाम्रो समाज पुग्दैछ कि स्थानीय रेडियो नसुनी सही सूचना नै थाहा नपाउने अवस्था हुन्छ । अरु थुप्रै माध्यमबाट पाएको सूचनालाई स्थानीय रेडियोको प्रसारणबाट पुष्ट्याई गर्नु पर्छ । स्थानीय रेडियोले भनेको मात्रै पत्याउनु पर्छ नत्र समस्यामा परिन्छ भन्ने दिन आउन अब टाढा छैन । या भनौँ अब रेडियोको युग फर्किंदैछ । रेडियोको युग फर्काउन रेडियो प्रसारक र रेडियोकर्मीहरु सबैभन्दा बढी जिम्मेवार र मिहेनती हुनु पर्छ । उनीहरुले स्थानीय समुदायको विश्वास जित्ने खालका उत्पादन सामग्रीहरु प्रसारण गर्नु पर्छ । जसबाट आममानिसले रेडियोप्रतिको अपनत्व पु्नः एकपटक जागृत गर्न सकून् ।
(लेखक, रेडियो मन्त्र झापाका कार्यकारी निर्देशक हुनुहुन्छ ।)