बिर्तामोड, माघ २२ । नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले समानुपातिक निर्वाचन प्रणाली हटाउनु पर्ने बताउनु भएको छ । समुदायमा काँग्रेस अभियानका क्रममा आज झापा आइपुग्नु भएका नेता कोइरालाले भन्नुभयो, ‘समानुपातिक निर्वाचन प्रणालीका बारेमा मेरो अडान स्पष्ट छ कि समानुपातिक प्रणाली हुनु हुँदैन ।’ वहाँले प्रत्यक्ष निर्वाचन प्रणाली मात्रै राखेर २४० सिटको प्रतिनिधि सभा बनाउनु पर्ने बताउनु भयो ।
समानुपातिकमा महिला, दलित, आदिवासी जनजातिका लागि छुट्याइएको सिट संख्यालाई प्रत्यक्षमा नै राखेर महिला, दलित, आदिवासी जनजातिहरुबीचमा मात्रै चुनावी प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न सके आरक्षणमा राखिएको सिटसंख्याबाट पनि तिनै समुदायका सांसदहरु प्रत्यक्ष निर्वाचनबाट आउने कोईरालाले बताउनु भयो । नेपाली काँग्रेस झापाको कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कोईरालाले भन्नुभयो, ‘आगामी निर्वाचनमा वडादेखि केन्द्रसम्म एक्लै चुनाव लड्ने गरी मिहिनेत गरेर पार्टी संगठन बलियो बनाउनु पर्छ ।’ उहाँले महाधिवेशनमा गुटगत राजनीति देखिनु स्वभाविक भएपनि त्यसको तिक्तता आम निर्वाचनमा पोखिदा समस्या उत्पन्न भएको बताउँदै नेता कोइरालाले बैचारिक गुटलाई पार्टी संगठन बलियो बनाउन लगाउनु पर्नेमा जोड दिनुभयो ।
अहिलेको निर्वाचन प्रणाली नै गठबन्धन नगरी सरकार बन्ने अवस्था नरहेको बताउँदै उहाँले निर्वाचन भन्दा अघि गठबन्धन गर्न नहुने भन्दै नेता कोईरालाले आफु निर्वाचनपछिको गठबन्धनका पक्षमा रहेको धारणा राख्नुभयो । सहभागीहरुले उठाएको जिज्ञाशाको जवाफ दिदै नेता कोइरालाले कोशी प्रदेश सरकारको नेतृत्व अन्य दललाई दिनुहुँदैन भन्नेमा आफू स्पष्ट रहेको बताउँदै पार्टीको जो–कोही आएपनि आफ्नो विरोध नरहने बताउनु भयो ।
नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले समुदायमा पार्टी स्थापित गरेर एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो । नेताको निर्देशन र निगाहमा अवसर पाउने प्रवृत्तिले पार्टीलाई क्षति पुग्ने धारणा राख्दै नेता थापाले यसको अन्त्य नभए पार्टीको भविष्य अन्योलमा पर्ने विचार राख्नुभयो । नेतृत्वको आसपासमा हुनेलाई मात्र अवसर दिने अवस्थाको अन्त्य गरेर योगदानको आधारमा अवसर दिन उहाँको आग्रह थियो । पार्टीका केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने ब्यवस्था परिवर्तन गरी जनताबाट अनुमोदित हुने ब्यवस्था लागु गर्न उहाँले माग समेत गर्नुभयो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले समुदायमा कांग्रेस अभियान एवं पार्टी संगठनको सक्रियताका लागि वडातहमा महाधिवेशन र जिल्ला सदस्यहरुलाई प्रतिनिधि खटाइएको जानकारी दिनुभयो । पार्टी सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति केशवराज पाण्डेले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो ।
कार्यक्रममा उषा गुरुङ, नारायण बस्नेत, हर्क फियाक, रतन थिङ्लावो, विटु गुरुङ, किशोर ढुगेल लगायतले आ–आफ्ना जिज्ञाशा राख्दै पार्टीभित्र उमेरहद वा निश्चित पदावधिको ब्यवस्था गर्न, युवाहरुलाई अवसर दिन, गुटगत राजनीति अन्त्य गर्न र समुदायको जिज्ञाशा सम्बोधन गर्न माग गरेका थिए । समुदायमा कांग्रेस अभियानका लागि झापा संयोजक समेत रहनुभएका कोइरालाले आज बिहान दमक नगर समितिको सभाहलमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।