माघ १८,बिर्तामोड । झापाको बिर्तामोड ९,गरामनीमा रहेको दुर्गा माध्यमिक विद्यालयले ६८औं बार्षिकोत्सवको अवसरमा विद्यालयमा महत्वपुर्ण योगदान पुर्याउने दर्जनौ व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
बुधबार विद्यालय प्रागंणमा आयोजित कार्यक्रमका बिच विद्यालयका पूर्व प्रधानाध्यापकहरू,विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु ,जग्गादाताहरू,सञ्चारकर्मी तथा शिक्षकहरुलाई सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधीसभाका सभामुख देवराज घिमिरे,कोशी प्रदेशका सांसद एकराज कार्की लगायतले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
विद्यालयले उत्कृष्ट बर्ष शिक्षकको रुपमा शिक्षक धर्मेन्द्र भट्टराईलाई नगदसहित प्रशंसा पत्र प्रदान गरेको छ । त्यस्तै विद्यालयका शिक्षकद्वय कुमार खरेल र जनार्दन मिश्रलाई दीर्घ सेवा सम्मानद्वारा सम्मानित गरिएको छ भने,स्वर्गीय खतिया सिंह राजबंशीको स्मृतिमा स्थापित स्वर्गीय खतिया सिंह राजवंशी स्मृति अक्षय कोषको तर्फबाट सोही विद्यालयका शिक्षक निरतलाल राजवंशी र देवकोटा आधारभूत विद्यालयकी शिक्षिका टिका चौधरीलाई सम्मानित गरिएको छ । शिक्षकहरूलाई नगद १० हजार ५ सय ५५ रुपैयाँ सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
विद्यालयका पूर्व प्रधानाध्यापकहरू नारायण उप्रती,जयकुमार प्रसाई,मात्रिका प्रसाद पाठक,गुरुभक्त न्यौपाने,कृष्ण प्रसाद पाठक तथा स्वर्गिय खड्ग प्रसाद पाण्डेको परिवारका सदस्यलाई दोसल्ला र सम्मानपत्रद्वारा गरिएको थियो । सोही अवसरमा पूर्व प्रधानाध्यापक गुरुभक्त न्यौपानेले २ लाख ५१ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापनाको घोषणा गर्नुभएको छ । त्यस्तै विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरू गगां बाहादुर प्रसाई,गोपीचन्द्र मैनाली,भद्र प्रसाद चुडाल,उदिम उप्रेती,एकराज कार्की,छविलाल प्रसाइ तथा प्रेम थापालाई समेत दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।
कार्यक्रममा जग्गा दाता स्वर्गीय छिठिया राजवंशीको परिवारको तर्फबाट छोरी फलिता राजवंशी तथा अक्षयकोष दाता स्वर्गीय खतिया सिंह राजवंशीको परिवारको तर्फबाट छोरी प्रेमा राजवंशी र सञ्जय राजवंशीलाई समेत सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट अभिभावकतर्फ एजमिरा खातुन ,पूर्व विद्यार्थी आकृति खरेल तथा उत्कृष्ट शैक्षिक पत्रकार सम्मानद्धारा नेपाल टेलिभिजनका झापा संवाददाता इन्द्रजित मुखिया सुनुवारलाई सम्मानित गरिएको छ । सोही कार्यक्रमका बिच विद्यालयमा स्थापित १० वटा छात्रवृत्तिबाट विभिन्न विद्यार्थीहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सभामुख घिमिरे ,प्रदेश सांसद कार्की, बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रादेवी महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार बिक, शिक्षा शाखा बिर्तामोड प्रमुख तिलचन भण्डारी, पूर्व प्रधानाध्यापक गुरुभक्त न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले विद्यालयको बाषिर्क प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शिक्षक तथा विद्यार्थीद्वारा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको कार्यक्रममा सहायक प्रधानध्यापक लेखनाथ सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षकद्वय धर्मेन्द्र भट्टराई र उमानाथ भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
६८औं बार्षिकोत्सवको अवसरमा आज अभिभावक भेलाको आयोजना गरिएको छ । भेलाले विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति गठन गर्ने बताइएको छ ।