ज्यामिरगढी, माघ १७ । झापाको मेचीनगर नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष गुणराज भट्टराईले संघीय सांसद विश्वप्रकाश शर्मा र नगरप्रमुख गोपालचन्द्र बुढाथोकी जनताकैबिचमा रहनु भएको बताउनु भएको छ ।
वडा कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा वडा अध्यक्ष भट्टराईले सांसद शर्माले वडाको विकास निर्माणका काममा गम्भिर चासो दिएको र केही दिन अघि मात्रै पनि वडाकै समस्याहरुमा स्थलगत रुपमा अवलोकन गर्न आउनु भएको बताउनु भयो ।
‘केही दिन अघि मात्रै पनि ज्यामिरगढी माविको जग्गाको विवाद र जीर्ण भएको हडिया पुलको अवलोकन गर्न सांसद शर्माले नै सहरी विकास मन्त्री सिता गुरुङलाई वडा नं. १५ मा नै लिएर आउनु भएको थियो,’ वडा अध्यक्ष भट्टराईले भन्नुभयो, ‘माघ १२ गते वडामा नै आएर झोलुङ्गे पुल निर्माण रोकिएको बिषयमा सांसद शर्माले मन्त्रीसंग कुरा गर्नु भएको छ ।’
ज्यामिरगढीका युवाहरुले सांसद हराएको भन्ने प्लेकार्ड बोकेर प्रदर्शन गरेको बिषयमा बोल्दै वडा अध्यक्ष भट्टराईले भन्नुभयो, ‘पुल निर्माणस्थलमा पुग्नु भएन भन्दैमा उहाँले त्यस बारेमा चासो दिएकै छैन भन्न मिल्दैन, हाम्रै अगाडी सम्बन्धीत मन्त्रालयको मन्त्रीलाई झोलुङ्गे पुल निर्माण तत्काल सूचारु गर्न भन्नुभएको छ ।’
ओमनमा अलपत्र परेकी मेचीनगर १५ की महिलालाई शर्माले नै उद्दार गरेर घर ल्याईदिएको वडा अध्यक्ष भट्टराईले बताउनु भयो ।
‘ओमनमा अलपत्र परेकी हाम्रै वडाको चेलीलाई सांसद शर्माले नै पहल गरेर घर ल्याईदिनु भयो,’ भट्टराईले भन्नुभयो, ‘हाम्रै वडाका अन्य थुप्रै विकास निर्माणको काममा समेत संघीय सांसद र नगरप्रमुखले चासो दिनु भएको छ, उहाँहरुलाई हराएको भन्नु गलत हो ।’
गतबर्षदेखि निर्माण सुरु भएको मेचीनगर १५ को हेल्दुवाडी र बिचार्नी जोड्नेगरी निन्दा खोलामा झोलुङ्गे पुल निर्माण भए पनि केही प्राविधिक कारणले गर्दा अहिले निर्माणको काम रोकिएको वडा अध्यक्ष भट्टराईले पत्रकार सम्मेलनमा बताउनु भयो ।
भट्टराईका अनुसार ३५० मिटर लम्बाईको झोलुङ्गे पुल निर्माणका लागि ४ करोड ३८ लाखमा ठेक्का लागेकोमा पहिलो किस्ता बापत ७४ लाख रकम आएको र उक्त रकम निर्माण कम्पनीले भुक्तानी लगिसकेको छ ।
३० महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्भौता भएको पुलको चालु आर्थिक बर्षमा बजेट बिनियोजन नभएका कारण निर्माण रोकिएको वडा भट्टराईले बताउनु भयो । ‘मन्त्री परिषदबाटै निर्णय गरेर भए पनि झोलुङ्गे पुल निर्माणका लागि बजेटको व्यवस्था गर्न संघीय सांसद शर्मा लागिरहनु भएको छ,’ वडा अध्यक्ष भट्टराईले भन्नुभयो ।
असार देखि निर्माण कार्य रोकिए पछि मेचीनगर १५ स्थीत ज्यामिरगढीका युवाहरुले माघ १३ निर्माणाधिन झोलुङ्गे पुलमा उभिएर संघीय सांसद शर्मा र नगरप्रमुख बुढाथोकीको फोटो सहितको प्लेकार्डमा ‘सांसद हराएको सुचना’ र ‘कहिले बन्छ पुल ?’ लेखेर प्रदर्शन गरेको थिए ।