झापा, माघ १७ । मिटर व्याज पीडितहरुले माग पूरा नभएसम्म सडक नछाड्ने भन्दै हिजोदेखि मेची महाकाली ‘न्याय मार्च’ सुरु गरेका छन । विभिन्न जिल्लाबाट भेला भएका मिटर ब्याज पीडितहरुले हिजो काँकडभिट्टास्थित मेची पुलबाट ‘न्याय मार्च’ सुरु गरेका हुन । मिटर ब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण ‘फर्जी लिखत’, ‘पीडितको सम्पत्तिको हक हस्तान्तरण’ बदर लगायतका ६ बुँदे माग सरकारसँग राखेर शहिद दिवसको अवसरमा पैदल यात्रा सुरु गरिएको बताउनुभएको छ ।
“माघको चिसोमा चप्पल लगाएर एकसरो लुगामा पीडितहरु न्याय माग्दै सडकमा आउनु बाध्यता हो,” अध्यक्ष कुशवाहले ‘न्याय मार्च’को उद्घाटन अवसरमा भन्नुभयो–“पीडितहरुको माग सरकारले छिटोभन्दा छिटो सुनोस । जबसम्म मागको सुनुवाई हुँदैन, तबसम्म हामी सडक छाड्दैनौं ।” सरकारले देशभरिबाट मिटर व्याज पीडितको निवेदन संकलन गरे तापनि उनीहरुलाई न्याय दिन नसकेको र अदालतबाट पनि पीडककै पक्षमा पटकपटक आदेश जारी हुन थालेको हुँदा सडक आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको उहाँले बताउनुभयो ।
बिगत तीन वर्षदेखि न्यायका लागि आन्दोलन गरिरहेको जनाउँदै उहाँले अधिकारसम्पन्न न्यायिक छानविन आयोग गठन गर्न र पीडकलाई कानूनी कार्वाही गर्ने शक्तिशाली कानून निर्माण गर्न सरकारसँग माग गर्नुभयो । देशभरमा पाँच हजार र झापामा मात्रै ६ सयभन्दा बढी मिटर ब्याज पीडित रहेको संघर्ष समितिका झापा सचिव नारद दवाडीले बताउनु भएको छ ।
पीडितहरुले मिटर व्याजीहरुलाई पक्राउ गरेर कार्वाही गर्न माग गर्दा प्रमुख जिल्ला अधिकारीहरुबाट समेत केही गर्न नसकिने निरीहता प्रस्तुत भएको सचिव दवाडीले गुनासो सुनाउनुभयो । “एउटै मिटर व्याजीले थुप्रै पीडितको उठिबास लगाएको प्रमाण छ, तर अदालतबाट उल्टै पीडककै पक्षमा निषेधाज्ञा जारी हुने गर्छ,” उहाँले भन्नुभयो–“पीडितहरुलाई न्याय दिलाउनका लागि हामी ३६ महिनादेखि निरन्तर शान्तिपूर्ण आन्दोलनमा छौं । सरकारले हाम्रा कुरा सुनेन, न्यायलयले पनि सुनेन । त्यसैले हामी सडकमा आएका छौं ।”
मेचीनगर नगरपालिका–६ का पदम कटुवालले मिटर व्याजबाट पीडितहरुले बित्थामै अदालत र प्रशासनमा तारिख धाइरहनु परेको गुनासो व्यक्त गर्दै सरकारले आफ्ना नागरिकलाई अन्याय परेको अवस्थामा गम्भीर बनेर अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पैदल यात्रामा सहभागी सिराहा–२ की राम राजीले सात लाख ऋण लिएकोमा नौ लाख तिरिसक्दा समेत मिटर व्याजीले घरजग्गा हडपेको बताउनुभयो । उहाँले भन्नुभयो–“सबै लुटियो, अब भोकै भए पनि आन्दोलनमै लाग्छु, मलाई न्याय चाहियो । मेरो सम्पत्ति फिर्ता चाहियो ।”
मिटर ब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिको अगुवाईमा सुरु भएको ‘न्याय मार्च’का सहभागीले खाने र बस्ने बन्दोवस्तीका सामान बोकेरै पैदल यात्रा प्रारम्भ गरेका हुन । उनीहरुले सिरक डसना समेत बोकेका छन । आन्दोलनका क्रममा कहाँ बास बस्नु पर्ने र भनेजस्तो ठाउँ नपाउँदा उपयोग गर्न सकिने भएकाले सिरक डसना नै बोकेर हिँड्नु परेको उनीहरुको भनाई छ । पूर्वपश्चिम राजमार्गमा पैदल यात्रा गरेरै चितवन हुँदै उनीहरुले १५ दिनमा काठमाडौं पुग्ने लक्ष्य रहेको बताएका छन ।
यात्रामा झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी लगायतका ५० जना मिटर व्याज पीडित सहभागी छन । जसमा आधा जति महिला छन । हिजै पश्चिमको सीमावर्ती महेन्द्रनगरबाट पनि पीडितहरुले एउटै समयमा ‘न्याय मार्च’ सुरु गरेको बताइएको छ । दुईतिरबाट सुरु भएको यात्राको चितवनमा भेट हुने र त्यहाँबाट एकीकृत भएर काठमाडौं जाने बताइएको छ । लोकतन्त्रपोष्टबाट ।