काकरभिट्टा, माघ १७ । गोर्खा मेमोरियल फण्ड बेलायतका अध्यक्ष धनकिरण गुरुङले आफुले मेचीनगरको विकास निर्माणमा सहयोग गरिरहेको र आगामी दिनमा पनि विभिन्न प्रकारका सहयोगलाई निरन्तरता दिने बताउनु भएको छ । नेपाल आउनु भएका बेलायतको फोक्सटन सिटिका पुर्व काउन्सिलर समेत रहनु भएका गुरुङले मंगलबार काकरभिट्टामा पत्रकारसंग कुराकानी गर्दै भन्नुभयो, ‘म डोनर हो, मैले त दिने हो, के लिने कसरी लिने भन्ने कुरा नगरपालिकाले जान्नु पर्छ ।’
गोर्खा मेमोरियल फण्ड बेलायतको टिममा सहयोगी र अरबपतिहरु समेत सम्मिलित भएकाले उनीहरु पनि मेचीनगरलाई सहयोग गर्न चाहिरहेकाले सहयोग लिने वातावरण मेचीनगर नगरपालिकाका तर्फबाट बनाउनु पर्ने गुरुङले पत्रकार सम्मेलनमा बताउनु भयो । दुई देश र दुई सहरबिचको सम्बन्धलाई सुमधुर बनाउन मेहनत गर्नु पर्ने र निरन्तर सम्पर्कमा बसेर यहाँको आवश्यकताका आधारमा प्रस्ताव ल्याउन सके त्यसलाई कार्यान्वयन गर्न सकिने गुरुङले बताउनु भयो ।
‘केही महिना अगाडी मात्रै मेचीनगरका प्रमुख र उपप्रमुख बेलायत पुगेर फर्किनु भयो,’ पत्रकारको प्रश्नको उत्तर दिंदै गुरुङले भन्नुभयो, ‘भ्रमणको बारेमा प्रेस मार्फत सार्वजनिक गर्नुहोस भनेका थियौं तर अहिलेसम्म उहाँहरुले बेलायत भ्रमणमा के भयो भनेर सार्वजनिक गर्नु भएको रैनछ, किन गर्नु भएन त्यो उहाँहरुको कुरा हो ।’ उहाँले नगरबिकासका लागि बेलायतबाट के सहयोग चाहिएको हो भनेर मेचीनगर नगरपालिकाले अहिलेसम्म ठोस प्रस्ताव नल्याएको समेत बताउनु भयो ।
‘बेलायतीहरु गफ गरेर मात्रै विश्वास गर्दैनन,’ गुरुङले भन्नुभयो, ‘उनीहरुलाई के काम गर्ने हो र त्यो कामले कस्तो नतिजा आउँछ भन्ने कुराको डिटेल प्लान चाहिन्छ ।’ अहिलेसम्म जे जति सहयोग भएको छ त्यसका लागि आफ्नो र गोर्खा मेमोरियल फाउण्डेशन नेपाल र बेलायतको मात्रै पहलकदमी रहेको गुरुङले भयो । यस अघि बिपद व्यवस्थापनका लागि मेचीनगर नगरपालिकालाई विभिन्न सामग्रीहरु सहयोग उपलब्ध गराएको भए पनि नगरपालिकाले त्यसको सहि रुपमा प्रयोग गर्न नसकेको गुरुङले आरोप लगाउनु भयो । गुरुङले पत्रकार सम्मेलनमा एक दशकयता मेचीनगरको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योजना बनाइरहेको बताउनु भएको छ ।
आगामी बर्ष मेचीनगरको धुलाबारी माद्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने समेत गुरुङले जानकारी दिनुभयो । ‘सन २०२५ मा धुलाबारी माविमा कम्प्युटर ल्याब स्थापना गर्दैछौं,’ गुरुङले भन्नुभयो, ‘३२ देखि ३५ वटा कम्प्युटर सहितको आधुनिक ल्याब बनाउने निर्णय भएको छ ।’ उहाँले आगामी बर्ष फोक्सटन सिटिका मेयर सहितको टोलि मेचीनगरको भ्रमणमा आउने समेत पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनकैबिच द गोर्खा मेमोरियल फाउण्डेशन नेपालद्वारा गोर्खा सांगीतिक साँझ–२ को तयारी गरिएको समेत जानकारी दिनुभयो । गितकार तथा संगितकार समेत रहनु भएका धनकिरण गुरुङको बिषेश प्रस्तुती रहने सांगिति साँझ माघ २७ गते शनिबार काकरभिट्टास्थीत टाउन हलमा आयोजना गरिने गोर्खा मेमोरियल फाउण्डेशन नेपालका उपाध्यक्ष गंगालाल गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । फाउण्डेशनका अध्यक्ष नगेन्द्र कुमार गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रम फाउन्डेसनका सदस्य सन्तोष आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।