मेचीनगर, माघ १६ । मेचीनगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धुलाबारी माद्यमिक विद्यालय प्रथम भएको छ । माघ ११ गतेदेखि १३ गतेसम्म मेचीनगर १० स्थीत धुलाबारी माविको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा ३४ स्वर्ण, ४ रजत र ८ कास्य पदक सहित धुलाबारी माविले प्रथम स्थान हालिस गरेको हो ।
त्यस्तै ११ स्वर्ण, १० रजत र १२ कास्य सहित मेचीनगर १४ को बालसुबोधिनी मावि दोस्रो र ७ स्वर्ण, ८ रजत र २ कास्य सहित मेचीनगर ९ को आदर्श विद्या मन्दिरले तेस्रो स्थान हासिल गरेको छ । धुलाबारी माविको आयोजना प्रतियोगितामा ६६ खेलहरु भएका थिए भने मेचीनगरका १८ सामुदायिक र २३ संस्थागत गरी ४१ वटा विद्यालयका करीब ७ सय विद्यार्थीले सहभागिता जनाएको प्रतियोगिता आयोजक समितिका सदस्य दिपेन्द्र कन्दङ्वाले जानकारी दिनुभयो ।
प्रतियोगिताको उदघाट्न माघ ११ गते धुलाबारी माविका व्यवस्थापन समितिका अध्यक्ष गणेशबिक्रम नेम्वाङ्गको सभापतित्वमा सम्पन्न भएको थियो । मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ह्दय राजबंशीको प्रमुख आतिथ्यता सम्पन्न उदघाट्न समारोह धुलाबारी माविका प्रधानाध्यापक महेन्द्र विलाश लुईटेलले स्वागत मन्तव्य तथा शिक्षक रमेशकुमार दाहालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
माघ १३ गते आयोजना गरिएको प्रतियोगिताकोे समापन समारोहमा प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, बिषेश अतिथि उपप्रमुख मिना पोखरेल उप्रेती, निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी लगायतले प्रगियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
समापन समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले विद्यार्थीलाई खेलकुदमा लाग्न प्रेरित गर्दै अध्ययनसंगै खेलकुदमा लाग्दा विद्यार्थीको शारिरीक र मानसिक स्वास्थ्य ठिक हुने बताउनु भयो । धुलाबारी माविका सहायक प्रधानाध्यापक तेजप्रसाद चम्लागाईले समापन मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम माविका अध्यक्ष गणेश विक्रम नेम्वाङ्गको सभापतित्वमा सम्पन्न भएको थियो ।