मेचीनगर, माघ १४ । क्याम्पस परिषरको जग्गा भानु साहित्यीक प्रतिष्ठानको नाममा गर्न नगरपालिकाले शहरी बिकास मन्त्रालयमा सिफारिस गरेको प्रति काकरभिट्टा क्याम्पसले आपत्ती जनाएको छ । आज बिहान काकरभिट्टा क्याम्पसको व्यवस्थापन समिति, प्राध्यापक र बिद्यार्थी सहितको टोलिले मेचीनगर नगरपालिकाको कार्यालयमा पुगेर नगरप्रमुख सहित सम्पूर्ण कार्यापालिका सदस्यहरुको गम्भिर ध्यानाकर्षण सहित आपत्ती समेत जनाएको छ ।
नगर कार्यपालिका बैठक चलिरहेकै बेला क्याम्पसको टोलिले नगरप्रमुख, उपप्रमुख सहित सम्पूर्ण कार्यपालिका सदस्यहरुलाई काकरभिट्टा क्याम्पस परिषरको जग्गा भानु साहित्यीक प्रतिष्ठानको नाममा स्वामित्व हस्तान्तरण गर्न यस अघि गरिएको सिफारिस तत्काल सच्याउन माग गरेको हो ।
‘तत्कालिन अवस्थामा आदिकवि भानुभक्त आचार्यको पूर्णकदको शालिक राख्ने स्थानको खोजी हुँदा काकरभिट्टा क्याम्पसको परिषर सुरक्षीत र सहि स्थान भएको ठहर गरिएको थियो,’ ध्यानाकर्षण पत्र बुझाउँदै क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले भन्नुभयो, ‘आदिकविको शालिक राख्नका लागि मात्रै क्याम्ससले जग्गा दिएको थियो, पछि भानु साहित्यीक प्रतिष्ठानको कार्यालय राख्नका लागि पनि एउटा कोठा उपलब्ध गराएको हो तर अहिले क्याम्पसले उपयोग गरेको जग्गा भानु साहित्यीक प्रतिष्ठानलाई स्वामित्व हस्तान्तरण गर्ने सिफारिस नगरपालिकाले गरेको प्रति गम्भिर आपत्ती छ ।’ नगरपालिकाले आफ्नो सिफारिस नसच्याए मर्यादा भित्र रहेर थप संघर्षका कार्यक्रम तय गर्ने समेत क्याम्पस प्रमुख उप्रेतीले चेतावनी दिनुभयो ।
क्याम्पसको ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अघिल्लै जनप्रतिनिधिहरुको पालामा भएको सिफारिसमा केही त्रुटि देखिएकाले अब सच्याएर नयाँ सिफारिस गर्ने प्रतिबद्धता जनाउनु भयो ।
सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेको र स्थानीयस्तरमा सार्वजनिक, शैक्षिक संस्था, खानेपानी, बसपार्क तथा मिनि मार्केटले उपभोग गरिरहेको जमिन सम्बन्धीत संस्था र नगरपालिकाको नाममा स्वामित्व हस्तान्तरण गर्न माग गर्दै संघीय सहरी विकास मन्त्री सिता गुरुङ मेचीनगर नगरपालिकामा नै आएको अवसरमा जमिनको सूची दुई दिन अघि माघ १२ गते नगरप्रमुख बुढाथोकीले मन्त्रीलाई सिफारिस सहित हस्तान्तरण गर्नु भएको थियो ।