झापा, माघ १४ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हिजो देखि झापाबाट ‘संवाद यात्रा’ सुरु गर्नु भएको छ । महामन्त्री थापाले हिजो बिहान झापाको भद्रपुरको मेची पुलबाट यात्रा आरम्भ गर्नु भएको हो ।
समुदायमा कांग्रेस अभियान अन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदिप पौडेल लगायतले थापालाई पार्टीको झण्डा हस्तान्तरण गर्दै यात्राको शुभकामना दिनु भएको थियो ।
यात्राको शुभारम्भ कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री थापाले जनतामा रहेको निराशा चिर्न संवाद यात्रा सुरु गरेको बताउनु भयो । ‘कसैलाई निराशाबाट व्यापार गर्नु छ, कसैलाई निराशाबाट फाइदा उठाउनु छ,’ थापाले भन्नुभयो, ‘तर हामीलाई आम जनतामा रहेको निराशालाई चिर्नु छ ।’
शुभारम्भ कार्यक्रममा बोल्दै अर्का महामन्त्री शर्माले संवाद यात्राका क्रममा आएका सुझावलाई पार्टीको आशन्न महासमिति बैठकमा छलफल गर्ने र त्यसले नविन काँग्रेस बनाउन सहयोग पुग्ने बताउनु भयो ।
संवाद यात्राका क्रममा भाषण गर्ने कार्यक्रम नरहने र पार्टीका कार्यकर्ताहरू तथा आम नागरिकका गुनासा र सुझाव लिने महामन्त्री थापाले तयारी गर्नु भएको छ ।
हुलाकी सडक केन्द्रीत संवाद यात्राका क्रममा हिजो महामन्त्री थापाले झापाका हात्ती प्रभावितहरुसंग छलफल गर्नु भएको थियो त्यस्तै किसानहरुसंग खुला छलफल गर्दै यात्रा हिजै मोरङ जिल्ला प्रवेश गरेको बताइएको छ ।
संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा २६ माघमा सकिनेछ ।