स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस कोभिड १९ को महामारी झन् बढ्दै गएकाले चाडपर्वको समयमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । धार्मिक कार्यक्रममा सहभगी हुँदा बढीमा २५ जना मात्रै भेला हुन पाउने गरि स्वास्थ्य मन्त्रालयले यसअघि नै मापदण्ड जारी गरिसेकोका छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अनावश्यक रुपमा भेटघाट र भिडभाड नगर्न, टाढैबाट कुराकानी गर्न, मास्क अनिवार्य रुपमा लगाउन, हात मिलाउने वा अंकमाल गर्ने काम नगर्न आग्रह गर्नु भएको छ । देवी देवताका मुर्ति र धेरै व्यक्तिले प्रयोग गर्ने सामाग्री नछुन पनि मन्त्रालयको सुझाव छ । पैसाको कारोबार विद्युतीय माध्यमबाट गर्न पनि मन्त्रालयले भनेको छ ।
पछिल्लो २४ घन्टामा नेपालमा अहिले सम्मकै धेरै ५ हजार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५ हजार ६८४पुगेको छ । पछिल्लो अब देशभरि सक्रिय सङ्क्रमितको संख्या ३० हजार ८१८ पुगेको छ ।
चाडबाड केन्द्रीत सुरक्षा योजनाबनाउँदै प्रहरी
प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्र विन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशन अनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्ला अन्तिम तयारीमा जुटेको छ ।
केहीदिन भित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागु हुने उहाँले जानकारी दिनु भयो । चाडबाडका बेला गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामाविशेष ध्यान दिनु पर्ने आवश्यकता अनुसार रणनीति बनाउनु पर्ने भएकाले मातहतका प्रहरी कार्यालय त्यसैमा जुटिरहेको उहाँले बताउनु भयो ।