झापा, माघ १२ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघ १३ गते (भोली) देखि झापाबाट संवाद यात्रा सुरु गर्ने हुनु भएको छ । महामन्त्री थापाले शनिवार विहान ८ बजे झापाको भद्रपुरस्थीत मेची पुलबाट हुलाकी मार्ग केन्द्रीत यात्रा आरम्भ गर्ने हुनु भएको हो । ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गन यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी हुने नेपाली कांग्रेस झापाले जनाएको छ ।
महामन्त्री थापाले शनिवार विहान ८ बजे मेचीपुलमा झण्डोत्तोलन गरेर यात्रा शुभारम्भ गर्नु हुनेछ । पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा तथा सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लाग्नु भएको हो । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ । कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १२ गतेदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ ।
महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लाग्नु भएको हो । महामन्त्री थापा शनिवार विहान ९ः३० बजेदेखि १० बजेसम्म झापा चोकमा चिया संवाद गर्नु हुनेछ । थापाको संवाद यात्रा नेपाली कांग्रेसका नेता कार्यकर्ता मात्र भेट्ने नभएर आम नागरिकसँग सम्वाद गर्ने भएकाले सबैसँग संवाद गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ । थापाले बुधबार विहान १० बजे कन्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्ने ११ देखि १२ बजे कृषक समूहसँग संवाद गर्ने, १२ः३० बजेदेखि २ बजेसम्म झापा बजारमा खुल्ला संवाद गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, कुन्जीवारीमा पैदलयात्रा गर्दै कन्काई नदी तर्ने, दिउँसो ३ बजे खजुरागाछीमा खुला संवाद गरी ४ बजे झापाको चौकीघाटबाट मोरङ प्रस्थान गर्ने कार्यक्रम रहेको काँग्रेस झापाले जनाएको छ । संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गते सकिनेछ ।