मेचीनगर, माघ १२ । संघीय सहरी विकास मन्त्री सिता गुरुङले बर्षौदेखि स्थानीय सरकार र संघसंस्थाको स्वामित्वमा नभएका काकरभिट्टा क्षेत्रको सार्वजनिक जमिनहरु छिट्टै नगरपालिकाको स्वामित्वमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । शुक्रबार मेचीनगर नगरपालिकामा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालकै पुर्वी नाका भएकाले पनि त्यसलाई व्यवस्थीत गर्न पनि राष्ट्रिय आवास कम्पनीको अधिकार क्षेत्रमा रहेको काकरभिट्टा क्षेत्रका सार्वजनिक जमिनहरु नगरपालिका र सम्बन्धी संघ संस्थाको स्वामित्वमा सार्ने प्रक्रिया सरकारले तत्कालै थाल्ने बताउनु भयो ।
काकरभिट्टा क्षेत्रका सार्वजनिक जमिन र विभिन्न संघ संस्थाले उपभोग गरिरहेका जमिनहरु लाई स्वामित्व हस्तान्तर गर्ने कुरा सरकारको प्राथमिकतामा परेको छ, मन्त्री गुरुङले भन्नुभयो, ‘कानूनी रुपमा गर्न सक्ने र हुन सक्ने काम शहरी विकास मन्त्रालय र राष्ट्रिय आवास कम्पनीका पदाधिकारीहरुले यसलाई छिट्टै टुङ्गोमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएकी मन्त्री सिता गुरुङले पार्टीका महामन्त्री तथा यस क्षेत्रका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले यस बिषयमा धेरै पटक घचघच्याउनु भएको समेत कार्यक्रममा बताउनु भयो ।
छलफल कार्यक्रममा सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेका सार्वजनिक उपयोगका जमिनहरु स्थानीय सरकार र सम्बन्धीत संघ संस्थाहरुलाई स्वामित्व हस्तान्तरण गर्नेमा यस क्षेत्रका सबै राजनितिक दल र आम समुदाययको एउटै आवाज भएकाले त्यसलाई तत्काल समाधान गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भयो । ‘नाम सिता भए पनि यो कामका लागि दुर्गाको रुप धारण गर्नु परे पनि काम गर्नु पर्छ,’ मन्त्री गुरुङ तर्फ संकेत गर्दै सांसद शर्माले भन्नुभयो, ‘यो काम गर्न अप्ठ्यारो मान्नु पर्ने, डराउनु पर्ने र कानूनी अडचन छैन, कर्मचारी साथीहरुले समेत ढुक्क भएर काम गर्न सक्नु हुन्छ ।’
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले काकरभिट्टा क्षेत्रका सार्वजनिक जमिनहरुको बारेमा मन्त्री गुरुङलाई जानकारी गराउनु भएको थियो । नगरप्रमुख बुढाथोकीले भन्नुभयो ‘यो नगरपालिकाको मात्रै समस्या होईन नेपाल प्रवेशद्वारकै समस्या भएकाले पनि यसलाई गम्भिरताका साथ हेरिदिन मन्त्री ज्यूलाई आग्रह गर्दछु ।’ कार्यक्रमकै बिच नगरप्रमुख बुढाथोकीले स्वामित्व हस्तान्तरण गर्नु पर्ने जमिनहरुको सूची नै मन्त्री गुरुङलाई हस्तान्तरण गर्नु भएको थियो ।
छलफल कार्यक्रममा संविधान सभा सदस्य रविन कोईरालाले तत्काल स्वामित्व हस्तान्तरण गर्न नसक्ने हो भने आवास कम्पनीको अधिकारबाट उक्त जमिनहरु खोस्नु पर्ने र अर्को निकायको समन्वयमा जमिनको स्वामित्व हस्तान्तरण गर्न मन्त्रीको ध्यानाकर्षण गराउनु भयो । कार्यक्रममा संविधानसभा सदस्य उषा गुरुङले मन्त्रीले विश्वसनिय काम गर्ने र चाँडै नै मन्त्रीको प्रतिबद्धता अनुसार जमिनका स्वामित्व हस्तान्तरण हुने अपेक्षा गरेको बताउनु भयो ।
मेचीनगर नगरपालिका कार्यालयको सभाकक्षमा सम्पन्न छलफल कार्यक्रममा उपप्रमुख मिना उप्रेती, पूर्व नगरप्रमुख बिमल आचार्य, तत्कालिन काकरभिट्टा गाउँ विकास समितिका अध्यक्ष डिल्लीराम घिमिरे, राष्ट्रिय आवास कम्पनीका अध्यक्ष, महानिर्देशक, राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायत सरोकावालाहरुको सहभागिता रहेको थियो । छलफल कार्यक्रम निमित्त प्रमुख प्रशासकिय अधिकृत होमनाथ भण्डारीले सञ्चालन गर्नु भएको थियो ।
छलफल पछि मन्त्री गुरुङले काकरभिट्टामा रहेका बसपार्क, काकरभिट्टा मावि, काकरभिट्टा क्याम्पस, काकरभिट्टा खानेपानी उपभोक्ता संस्था, मिनि मार्केट क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको थियो । काकरभिट्टाको बसपार्क, काकरभिट्टा मावि, काकरभिट्टा क्याम्पस, काकरभिट्टा खानेपानी उपभोक्ता संस्था, मिनि मार्केट रहेको जमिन अहिले पनि सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीको क्षेत्राधिकार भित्र रहेकाले नगरपालिकाले लगानी गरेर कुनै पनि नयाँ संरचना निर्माण गर्न अवरोध भइरहेको छ ।