राष्ट्रिय सभा निर्वाचन आज हुँदैछ । १९ जना सदस्य निर्वाचिन गर्नका लागि सातै प्रदेशको प्रदेश राजधानीमा आज विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म राष्ट्रिय सभा सदस्यका लागि मतदान हुने निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्ने राष्ट्रिय सभाका लागि सत्ता गठबन्धन दलहरुले संयुक्त उम्मेद्वार उठाएका छन भने कोशी प्रदेशमा बाहेक अन्य प्रदेशमा नेकपा एमाले लगायतका दलहरुले उम्मेद्वार उठाएका छन । कोशी प्रदेशमा भने नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र(राप्रपा) बिच तालमेल भएको छ ।
कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरुका तर्फबाट अन्य समूहमा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र महिला तर्फ नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्की उम्मेद्वार हुनुहुन्छ । त्यस्तै एमाले राप्रपाका तर्फबाट अन्य तर्फ राप्रपाका उद्धव पौडेल र महिला तर्फ एमालेकी रुक्मिणी कोइराला उम्मेद्वार रहनु भएको छ ।
कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालयमा मतदान स्थल तोकेको निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएको ३ देखी चार घण्टा भित्रमा नतिजा आउने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बताउनु भयो ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने राष्ट्रियसभा निर्वाचनमा कोशीमा ३६७ मतदाता छन । जसमा ९३ जना प्रदेशसभा सदस्य र १३७ पालिकाका प्रमुख र उपप्रमुख गरी २७४ जना छन । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ छ ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद रहेका छन । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन ।
कोशीमा नेपाली कांग्रेसका प्रमुख उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन ।
कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४२४८, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १२७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झर्नेछ । सत्ता गठबन्धनसँग ५४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४६४२ छ ।