झापा, माघ ६ । पुर्वपश्चिम राजमार्ग अन्तरगत पुर्वी खण्ड झापाको काकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर मध्ये ९६.५ किलोमिटर सडक निर्माणको ठेक्का प्रक्रियाको सम्पूर्ण काम सकिएका काकरभिट्टा लौकही सडक निर्माण आयोजनाले जनाएको छ । आयोजनाका अनुसार आगामी चैत महिनादेखि सडक निर्माण कार्य शुरु गर्ने तयारी भइरहेको छ ।
यो सडक खण्डको निर्माण गर्दा झापाको मुख्य बजार क्षेत्र बिर्तामोडमा भने ओभरपासको व्यवस्था नभएको काकरभिट्टा लौकही सडक निर्माण आयोजनाका प्रमुख चुडाराज ढकालले सेतोपत्रलाई बताउनु भयो । बिर्तामोडमा मान्छे, सिटि रिक्सा, टेम्पो र मोटरसाईकल हिड्न मिल्नेमात्रै अण्डरपास निर्माण गर्ने गरी डिजाईन गरिएको र सोही अनुसार ठेक्का लागेको ढकालले बताउनु भयो । ‘बिर्तामोडमा ओभरपास निर्माण हुँदैन,’ आयोजना प्रमुख ढकालले भन्नुभयो, ‘बिर्तामोडमा साना सवारीहरु सिटिरिक्सा, मोटरसाइकल र पैदलयात्री हिड्न मिल्ने मात्रै अण्डरपास निर्माण हुन्छ ।’ उहाँका अनुसार बिर्तामोडस्थीत अदुवा खोलामा निर्माण भएका दुई वटा नयाँपुललाई नै प्रयोग गर्ने गरी डिजाईन भएकाले ओभरपासको निर्माण गर्न नमिल्ने भएको हो ।
झापाको दमकमा पनि ओभरपासको व्यवस्था नभएको ढकालले बताउनु भयो । उहाँका अनुसार दमकमा पनि बिर्तामोडमा जस्तै सिटिरिक्सा, मोटरसाइकल र पैदलयात्री हिड्न मिल्ने गरी मात्रै अण्डारपास निर्माण हुनेछ । बिर्तामोड र दमकमा ओभरपास नहुँदा कसरी सडक जाम र दुर्घटना हुनबाट रोक्न सकिन्छ भनेर स्थानीयस्तरमा छलफल गरेर थप डिजाईन गर्न सकिने पनि आयोजना प्रमुख ढकालले बताउनु भयो ।
झापाको चारआली र सुनसरीको ईटहरीमा ओभरपास हुने गरी सडक निर्माण हुने आयोजना प्रमुख ढकालले जानकारी दिनुभयो । चारआलीमा पुर्व पश्चिम राजमार्ग माथीबाट जाने गरी र उत्तर दक्षीणको मेची राजमार्ग तलबाट जाने गरी अण्डरपास निर्माण हुने छ भने ईटहरीमा पनि सोही प्रकारले पुर्व पश्चिम राजमार्ग माथीबाट र बिराटनगर–धरान सडक तलबाट जाने गरी अण्डरपास सहितको निर्माण हुने सडक आयोजना प्रमुख ढकालले बताउनु भयो । त्यस्तै चारआली सहितका जंगल क्षेत्रहरुमा वन्यजन्तुले सडक वारपार गर्नका लागि अण्डरपासको निर्माण गरिनेछ ।
३० अर्ब खर्च हुने यो सडक पाँच प्याकेजमा ठेक्का लागेको काकरभिट्टा लौकही सडक निर्माण आयोजना कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार सडक निर्माण तर्फ ३ वटा प्याकेजमा ठेक्का लागेको र पुल निर्माण तर्फ दुई वटा प्याकेजमा ठेक्का लागेको छ । सडक निर्माण तर्फ पहिलो प्याकेजका रुपमा झापाको काकरभिट्टादेखि पाडाजुङीसम्म, दोस्रो प्याकेजका रुपमा पाडाजुङीदेखि मोरङको गोठगाउँसम्म र तेस्रो प्याकेज गोठगाउँदेखि सुनसरीको कान्छीचोकसम्म अलग अलग ठेक्का लागिसकेको आयोजना प्रमुख ढकालले बताउनु भयो ।
त्यस्तै पुल निर्माण तर्फ लामो ६ वटा पुललाई दुई प्याकेजमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको छ । तीन सय मिटरभन्दा लामो पुलहरु निन्दा, बिरीङ र कन्काई एउटा प्याकेजमा र मावा, रतुवा र बुढी खोलाको पुल अर्को प्याकेजका रुपमा निर्माणको ठेक्का लागिसकेको छ ।
सडक निर्माण गर्दा बजार तथा चोक क्षेत्रमा ५० मिटर भित्रका सबैखाले संरचना भत्काएर सडक निर्माण हुनेछ भने सामान्य बस्ती तथा जंगल क्षेत्रमा ३२ मिटर भित्रका सबै संरचना भत्काएर सडक निर्माण गरिने ढकालले बताउनु भयो । उहाँका अनुसार बजार क्षेत्रमा १०/१० मिटरको दुई तर्फी मुख्य सडक बन्नेछ भने त्यस बाहेक दुवै तर्फ ६÷६ मिटरको सर्भिस लेन बन्नेछ । त्यस्तै बजार क्षेत्रमा दुवै तर्फ ३/३ मिटरको फुटपाथ निर्माण गरिनेछ । त्यसमा मुख्य सडकको बिचमा ३ मिटरको डिभाइडर हुनेछ भने मुख्य सडकदेखि सर्भिस लेनको सडकलाई छुट्याउन पनि दुवै तर्फ २/२ मिटरको डिभाइडर हुनेछ । त्यस्तै सामान्य बस्ती तथा जंगल क्षेत्रमा १०/१० मिटरको दुई तर्फी सडक निर्माण हुने छ भने सडकको बिचमा ३ मिटरको डिभाईडर राखिने छ । सडकका दुवै छेउमा ड्रेन निर्माण हुनेछ ।
अहिले कन्सलटेन्सी छनौटको प्रक्रियामा रहेको र केही दिनभित्रमा कन्सल्टेन्सी छनौट भइसक्ने आयोजनाले जनाएको छ ।त्यस्तै बिद्युतको पोल सार्ने कार्यका लागि बिद्युत प्राधिकरणले ठेक्का प्रक्रिया अगाडी बढाईसकेको र पुर्व तर्फको काकरभिट्टादेखि पाडाजुङीसम्मको पोल सार्ने गरी ठेक्का लागिसकेको समेत आयोजना प्रमुख ढकालले बताउनु भयो।
सडक निर्माण गर्दा हटाउनु पर्ने रुख कटानका लागि वन विभागले आवश्यक प्रक्रिया अगाडी बढाएकाले केही दिनभित्र रुख काट्ने कार्य शुरु हुने ढकालले बताउनु भयो । उहाँका अनुसार तीन बर्ष भित्र निर्माण सम्पन्न गर्नु पर्ने काकरभिट्टा लौकही सडकमध्ये ९६.५ किलोमिटर सडक खण्ड निर्माणका लागि फागुन महिनाको पहिलो साता भित्र ठेकेदारलाई निर्माण कार्यको अवधी शुरु भएको पत्र उपलब्ध गराउने आयोजनाले तयारी गरेको छ ।