मेचीनगर, माघ ५ । पुर्वी सिमान्त शहर काकरभिट्टाको ट्राफिक प्रहरीले पहिलो पटक कार्यालय भवन पाएको छ । काकरभिट्टामा रहेको ट्राफिक प्रहरीका लागि आवास सहितको कार्यालय भवन निर्माण गरी हिजो हस्तान्तरण भए पछि ट्राफिकले कार्यालय भवन पाएको हो ।
२६ बर्ष अघि पहिलो पटक काकरभिट्टामा ट्राफिक प्रहरीले सेवा दिन थालेको भए पनि अहिलेसम्म अस्थाई रुपमा घुम्तीबाट सेवा सञ्चालन गरिरहेको ट्राफिकले हिजोदेखि भने आवास सहितको कार्यालय पाएको हो ।
ट्राफिक भवन निर्माण समितिका तर्फबाट आयोजित भवन हस्तान्तरण तथा दाता सम्मान कार्यक्रमकाबीच नवनिर्मित भवन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
ट्राफिक प्रहरी पोष्ट काकरभिट्टाको भवन निर्माण समितिका अध्यक्ष मुक्ति पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमकाबीच प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डे लगायतले काकरभिट्टा ट्राफिकका प्रमुख सई लिलाबहादुर श्रेष्ठलाई भवन हस्तान्तरण गर्नु भएको थियो ।
स्थानीय व्यवशायी, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहयोगमा निर्माण गरिएको भवनमा ट्राफिक प्रहरीका लागि आवास समेतको व्यवस्था रहेको निर्माण समितिका अध्यक्ष मुक्ति पौडेलले बताउनु भयो ।
भवन हस्तान्तरण कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै निर्माण समितिका आर्थिक संयोजक सुभाष गुरुङले भवन बनाउन २२ लाख ६५ हजार १४५ रुपैयाँ लागेको र सो लागत दाताहरुबाट नगद तथा जिन्सी सहयोग भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार दाताहरुबाट १६ लाख ११ हजार ४७८ रुपैयाँ नगद र ६ लाख ५३ हजार ६६७ रुपैयाँ बराबरको जिन्सी सामान उपलब्ध भएको छ । २ लाख ४२ हजार ३१२ रुपैयाँ उठ्न बाँकी, १६ हजार १९३ रुपैयाँ बैँकमा बचत छ भने २ लाख ८३ हजार तिर्न बाँकी रहेको गुरुङले बताउनुभयो ।
ट्राफिक भवन निर्माण गर्न सहयोग गर्ने १०२ जना दाताहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य कोईराला, मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती, नेपाली काँग्रेसका झापा उपसभापति केशवराज पाण्डे, प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल, नेकपा माओवादी केन्द्र नगर इन्चार्ज माधव आर्याल लगायतले भवनबाट सेवा दिंदा अब काकरभिट्टा क्षेत्रमा ट्राफिक प्रहरीको सेवा प्रभावकारी हुनु पर्नेमा जोड दिए ।
ककारभिट्टास्थीत खानेपानी उपभोक्ता संस्थाको सभाहलमा सम्पन्न कार्यक्रम भवन निर्माण समितिका सल्लाहाकार सुभद्रा भट्टराई अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । ट्राफिक भवनको गत भदौ ६ गते शिलान्यास गरिएको थियो ।