बिर्तामोड । महिला जनचेतना केन्द्र मेचीनगर ६ काँकरभिट्टाको आयोजना बाल बिवाह न्यूनीकरण तथा महिला सशक्तिकरण कार्यशाला बुधबारदेखि विर्तामोडमा शुरु भएको छ । तीन दिनसम्म चल्ने कार्याशालाको बुधबार एक कार्यक्रमकाबीच कोशी प्रदेशसभा सदस्य लक्की गणेशले उदघाटन गर्नु भएको थियो । ‘शिक्षा र गरिवी नै बाल बिवाहको मुख्यः कारण हो’ उदघाटन सत्रका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य लक्की गणेशले भन्नुभयो, ‘जवसम्म नागरिक शिक्षित हुदैनन अनि गरिवीको को अन्त्य हुदैन तब सम्म यस्ता समस्याहरुले समाजमा जरो गाडीरहन्छन ।’
यसका लागि जनचेतना कमि भएको र लक्षित समुदायका लागि चेतनामुलक कार्यक्रममा सवै वर्ग, जनसमुदाय, संघ संस्था लाग्नुपर्ने उहाँको भनाई छ । खासगरी, बाल बिवाह मधेशी तथा मुश्लिम समुदायमा बढी हुने गरेको प्रदेश सांसद गणेशले बताउनु भयो । स्थानीय सरकारका वडा जनप्रतिनिधिहरु प्रत्येक गाउँ गाउँमा पुगेर चेतना दिनुपर्ने उहाँको भनाई छ । नेपाली समाजमा बाल विवाह गर्ने प्रथा खस आर्यमा मात्र सीमित नभएर यो प्रथाले तराई र सुदूरपश्चिमका दलित समुदायलाई गहिरो प्रभाव पारेको गणेशको भनाई छ । जवसम्म महिलाहरु आत्मनिर्भर हुदैनन तब सम्म कुनै न कुनै हिंसाको शिकार बनिरहने भएकाले अब महिला स्वयम आत्मनिर्भर बन्नुपर्ने गणेशको भनाई थियो ।
उद्घाटन सत्रका विशिष्ट अतिथि विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाईले यस विषयमा धेरै कामहरु भएपनि परिणाम अपेक्षा अनुसार हात नपरेको स्पष्ट पार्नुभयो । बाल बिवाहका कारण समाजमा थुप्रै समस्याहरु पैदा भएको भन्दैं यसको चेतना सम्बन्धित समुदाय, वर्ग, जाघतिसम्म कसरी पुर्याउने हो त्यो महत्वपूर्ण कुरा हुने नगरप्रमुख महतराको भनाई थियो । विशेष अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले अहिले समाजमा जरा गाडेर बसेका हानिकारक परम्पराको अन्त्यका लागि स्थानीय सरकार लागि परेको विचार राख्नुभयो ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले बाल विवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखिने विचार राख्नुभयो । लैंगिक हिंसा,यौनजन्य हिंसा, बालश्रम, वेचविखन जस्ता थप हिंसाहरूले वालिका र महिलाहरू थप प्रताडित हुन पुग्दछन । कालान्तरमा समाज विकास प्रकृयामा महिलाहरूको भुमिका र सहभागितालाई न्यून बनाई सभ्य, सुंसस्कृत एवम समतामूलक समाज निर्माण गर्न बाल विवाह बाधक तत्व बन्न पुग्ने प्रमुख जिल्ला अधिकारी वास्तोलाको भनाई थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले झापामा बाल बिवाहका घटना प्रश्स्त रहेपनि तीन वर्षयता कसैले पनि उजुरी नगरेको बताउनुभयो । ‘ऐनमा स्पष्ट रुपमा बाल बिवाह गर्नु र गराउनु अपराध हो भनेको छ’ प्रहरी उपरीक्षक रेग्मीले भन्नुभयो—‘ घटना पनि भएका छन, हामीलाई रोकीदिनु पर्यो भन्ने खवर पनि आउँछ, हामीले थाहा पाएसम्मको बाल बिवाह रोकेका पनि छौं तर कसैले लिखित उजुरी गरेका छैनन । ’
आयोजक संस्थाकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सहभागी सवैलाई भुवन सुब्बा खरेलले स्वागत, संस्थापक अध्यक्ष राधा प्रधानले कार्यक्रमको औचित्य माथि प्रकाश र सुष्मा राजवंशीले सञ्चालन गर्नुभएको थियो । कार्यशालामा कोशी प्रदेशका १४ जिल्लाबाट २५ जना सहभागी रहेको बताइएको छ । कार्यशाला शुक्रबारसम्म चल्ने छ ।