मेचीनगर, माघ २ । झापाको मेचीनगर नगरपालिकाले साउनदेखि पुस मसान्तसम्म १०९ जना सुत्केरीलाई पौष्टिक खाद्य सामग्री वितरण गरिसकेको छ । चालु आर्थिक बर्षको आमा तथा नवजात शिशु स्याहार कार्यक्रम अन्तरगत नगारपालिकाले बिनियोजन गरेको ७ लाख बजेटबाट सुत्केरीलाई पौष्टिक खाद्य सामग्री बितरण गरिरहेको मेचीनगरकी उपप्रमुख मिना पोखरेल उप्रेतीले बताउनु भयो ।
दीगो विकास लक्ष्य प्राप्तीका लागि मातृ तथा शिशु स्वास्थ्य प्रवद्र्धन गर्न र नगरका विपन्न तथा पिछडिएका समुदायका महिलाहरुमा प्रजनन स्वास्थ्य सेवाको पहुँच सहज बनाउन पौष्टीक खाद्य सामग्री वितरण गरिएको उपप्रमुख उप्रेतीले बताउनु भयो । ‘सुत्केरी आमालाई प्रत्यक्ष स्वास्थ्य सेवाको लाभ र शिशु स्याहार गर्न पनि सजिलो हुन्छ,’ उपप्रमुख उप्रेतीले भन्नुभयो, ‘तत्कालका लागि ३ सय जना सुत्केरीका लागि पौष्टिक खाद्य सामग्री खरिद गरिसकिएको छ, आवश्यकता अनुसार थप सामग्री खरिद गरेर यो कार्यक्रमलाई निरन्तरता दिन्छौं ।’
सुत्केरीलाई दिइने पौष्टिक खाद्य सामग्रीमा एक केजी ध्यू, एक केजी मह र एक केजी गेढागुढीको मिश्रण रहेको नगरकी स्वास्थ्य शाखा प्रमुख सबिता सापकोटाले बताउनुभयो । सबै सामग्री गुणस्तरिय रहेको र सुत्केरीका लागि अत्यन्तै लाभदायक भएकाले पनि यो कार्यक्रम निक्कै प्रभावकारी देखिएको सापकोटाले बताउनुभयो । अस्पतालमा नै सुत्कारी गराउनु पर्छ भनेर सचेतना फैलाउन पनि यो कार्यक्रमले सहयोग गरिरहेको सापकोटाले बताउनु भयो ।
‘हामीले सुत्केरीको पौष्टिक खाद्य सामग्री पाउनका लागि अस्पतालले दिने शिशु जन्मेको प्रमाण नै राख्नु पर्ने भनेका छौं,’ सापकोटाले भन्नुभयो, ‘त्यसैले निशुल्क पौष्टिक खाद्य सामग्री लिन पनि अस्पतालमा नै सुत्केरी गराउँन प्रेरित गरेको छ ।’
कार्यक्रम अन्तरगत वडा नंं ३ मा सबैभन्दा धेरै २४ जनाले सुत्केरी पौष्टिक खाद्य सामग्री लिएका छन भने सबैभन्दा कम वडा नंं ४ मा एक जनाले मात्रै पौष्टिक खाद्य सामग्री लिएको स्वास्थ्य शाखा प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
२०७४ सालदेखि नै यो कार्यक्रम सञ्चालन गरेको भए पनि गतबर्षसम्म नगद नै दिने गरिएको थियो तर नगद दिंदा सुत्केरीले प्रत्यक्ष लाभ लिन नसकेको पाइए पछि यो आर्थिक बर्षदेखि पौष्टिक खाद्य सामग्री वितरण गर्न थालिएको उपप्रमुख उप्रेतीले बताउनु भयो ।