बाहुनडाँगी । झापाको मेचीनगर ४ बाहुनडाँगीमा सञ्चालित दुई दिने तरुल उत्सव हिजो सकिएको छ । ग्रामिण पर्यटन प्रर्वद्धन तथा स्थानीय कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यले आयोजित तरुल उत्सवको समापन समारोहमा प्रमुख अतिथि संघीय सांसद विश्वप्रकाश शर्माले हाम्रा मौलिक खानेकुराको प्रवद्र्धन गर्न यस्ता उत्सवहरुले सहयोग गर्ने बताउनु भयो ।
गाउँकै उत्पादनको प्रयोग गर्न र नयाँ पुस्तालाई आफ्ना उत्पादनप्रति गर्व गर्न सिकाउन तरुल उत्सवको आयोजना गरिएको मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले बताउनु भयो ।
उत्सवको अवसरमा पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा हात्तीलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो । सो अवसरमा बिएस्सी फरेस्ट्रीका विद्यार्थी सन्दिप लुईंटेलले “बाहुण्डाँगीसँग हात्तीको सम्बन्ध, विगत, वर्तमान र भविष्य”सम्बन्धमा जानकारी गराउनु भएको थियो ।
बर्दियाबाट कार्यक्रममा सहभागी हुन आईपुग्नु भएका बन्यजन्तुसम्बन्धी अभियन्ता उज्यालो नेपालका प्रमुख रमेश थापाले बाहुण्डाँगीसँग हात्तीमा आधारित पर्यटनको प्रशस्तै संभावना रहेको बताउनु भयो । उत्सवमा हास्य कलाकार राजा राजेन्द्रको हास्य प्रस्तुतिले स्थानीय दर्शक हसाएको थियो भने विभिन्न विद्यालय र समूहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
उत्सवमा तरुलसँगै स्थानीयस्तरमा उत्पादन गरिएका मह, अचार, घरेलु तानबाट बुनिएका उन, ढाका तथा खाँडीका कपडालगायतका सामग्रीहरु प्रदर्शन गरिएको छ । तरुल उत्सवको उदघाट्न पुस २९ गते कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले गर्नु भएको थियो ।