झापा, माघ १ । झापामा राष्ट्रिय भाक्का दिवस आइतबार हर्सोउल्लासका साथ मनाइएको छ । झापाको बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भाक्का दिवस भव्य रुपमा मनाइएको हो । झापाका आदिवासी राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले यो परिकारलाई हरेक वर्ष पुस २९ गते राष्ट्रिय दिवसका रूपमा मनाउन सुरु गरेका हुन । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा विशेष कार्यक्रमको आयोजना गर्दै यो दिवस सम्पन्न गरिएको छ भने भद्रपुर र बाह्रदशीमा समेत भिन्ना भिन्नै कार्यक्रम गरी मनाइएको छ ।
राजवंशी समुदायको मौलिक परिकार भाक्कालाई प्रवद्र्धन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको रुपमा स्थापित गर्ने उद्देश्यले राजवंशी समाज विकास समिति झापाले बिर्तामोडमा सातौँ राष्ट्रिय भक्का दिवस मनाएको छ । बिर्तामोडमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । राष्ट्रिय भाक्का दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना पत्र पठाएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताउनु भयो ।
कार्यक्रममा १० हजारभन्दा धेरैको उपस्थिति रहेको र सबैलाई निःशुल्क भाक्का खुवाइएको उहाँले बताउनु भयो । सो कार्यक्रममा भारतीय गायिका नीलाञ्जना राय लगायत स्थानीय कलाकारको प्रस्तुति रहेको थियो । त्यस्तै सेलिब्रेटी सेफ सन्तोष शाह टिमको पनि कार्यक्रममा सहभागी थियो। सोही दिवसको अवसरमा रंगशालाका जग्गादाता स्व डोमालाल राजवंशीको छोरी सम्पत्ति राजवंशीलाई सम्मानपत्रले सम्मान गरिएको थियो । झापाका तीन वटा स्थानीय तह हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले दिवसको सन्दर्भ पारेर स्थानीय बिदा दिएपछि भाक्का दिवस नेपालीहरूको साझा कार्यक्रम बन्दै गएको समितिका सदस्य अर्जुन राजवंशीले बताउनु भयो ।
त्यस्तै राजवंशी विकास समिति भद्रपुरले भद्रपुरमा प्रथम भाक्का दिवस विविध कार्यक्रम गरी मनाएको छ । भद्रपुर–६ स्थित सिटी गार्डेन होटेलमा आयोजित कार्यक्रमको उद्घाटन कोशी प्रदेश सांसद भूमिप्रसाद राजवंशीले गर्नु भएको थियो । चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिएको भाक्का सहभागीहरूलाई निःशुल्क खुवाइएको समितिका अध्यक्ष उत्तम राजवंशीले बताउनु भयो । कार्यक्रममा राजवंशी समुदायको मौलिक भेषभुषा, कला संस्कृतिको पनि प्रदर्शन गरिएको उहाँले बताउनु भयो कार्यक्रममा भव्य बनाउने राष्ट्रिय कलाकार बलराम राजवंशी, कुसुम राजवंशी, सपना राजवंशी, उर्मिला राजवंशी लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो ।