झापा, पुस २८ । जुझारु युवा देबु बानियाँले बाहुनडाँगी जेसीजको अध्यक्षको पदभार ग्रहण गर्नु भएको छ । शुक्रबार आयोजित पदहस्तान्तरण कार्यक्रमकाबीच बाहुनडाँगी जेसीज बर्ष २०२३ का अध्यक्ष केवल निरौलाको गलामा रहेको जेसीज चेन पुर्व अध्यक्षहरुले सामुहिक रुपमा २०२४ का अध्यक्ष बानियाँको गलामा लगाइदिए पछि बानियाँले अध्यक्षको पदभार ग्रहण गर्नु भएको हो ।
बाहुनडाँगीको सामुदायिक भवनमा आयोजित पदहस्तान्तरण समारोहका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले स्थानीयस्तरका संघ संस्थाहरुले आफ्नै ठाउँ बनाउन लाग्नु पर्ने बताउनु भएको छ । सांसद शर्माले बाटो तथा पुल जस्ता संरचना बनाएर मात्रै विकास नहुने र विकासका लागि भावनात्मक र पारिवारिक सम्बन्धले पनि विकासमा योगदान गर्ने बताउनु भयो । ‘राजनितिक आस्थाका कारण समाज खण्डिकरण गर्नु हुँदैन,’ नेपाली काँग्रेसका महामन्त्री समेत रहनु भएका शर्माले भन्नुभयो, ‘विधिको शासन स्थापित गर्न जेसीजको प्रणाली उदाहरणीय छ ।’
कार्यक्रममा मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले सबै आस्था र समुदायका युवालाई जेसीजले समेटेर स्थानीयस्तरमा सामाजिक चेतना फैलाउन आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिम कुवँर, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष योगेश राजवंशी, बाहादुर तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बाहुनडाँगी जेसीजको वर्ष २०२४ का लागि कार्यकारिणी उपाध्यक्षमा केदार सुनुवार र सुष्मा मिश्र, उपाध्यक्षमा पवन बराईली, सदेश पौडेल, थेसिस रुचाल र किरण गौतम निर्वाचित हुनु भएको थियो भने पदहस्तान्तरण समारोहकाबीच अध्यक्ष देबु बानियाँले महासचिवमा सुस्मिता खतिवडा भण्डारी, कानूनी कोषध्यक्षमा नित्यानन्द चम्लागाईँ तथा कानूनी सल्लाहाकारमा न्यूटन कार्कीलाई मनोनित गर्नु भएको थियो । त्यसैगरी कार्यक्रम संयोजकमा सामुल राय, तालिम संयोजकमा विशाल तामाङ तथा जनसम्पर्क अधिकारीमा चित्रबहादुर श्रेष्ठ मनोनित भएका छन ।
कार्यक्रममा अध्यक्ष बानियाँले आफ्नो कार्यकालमा विशेष गरी शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्वता व्यक्त गर्दै आफ्नो कार्यकालमा मायाको चिनो वितरण नगर्ने भन्दै मायाको चिनोमा हुने खर्चले बाहुनडाँगी क्षेत्रका दुई जना विद्यार्थीको एक बर्ष उच्च शिक्षा अध्ययनको सबै खर्च व्यहोरिदिने बताउनु भयो । त्यस्तै रितिका डेरी उद्योगका सञ्चालक राजन चिमरियाले बाहुनडाँगी जेसीजले छनौट गरेको एक जना विद्यार्थीको उच्च शिक्षाको एक बर्षको सम्पूर्ण खर्च आफुले व्यहोरिदिने घोषणा गर्नु भएको छ । पदहस्तान्तर कार्यक्रमका अवसरमा चिमरियाले अध्यक्ष बानियाँमार्फत उक्त घोषणा गर्नु भएको थियो ।
अध्यक्ष बानियाँले आफ्नो कार्ययोजना सुनाउँदै जेसीजका सदस्य तथा पुर्व अध्यक्षहरुको स्वास्थ्य उपचारका लागि झापाको भद्रपुरस्थीत ओमसाई पाथीभरा अस्पतालसंग बिषेश छुटमा उपचार गर्ने गरी छलफल भएको र केही दिनमा नै सम्झौता हुने जानकारी दिनुभयो । हात्तीबाट मानविय क्षति हुनबाट जोगाउन सक्रिय रहेको स्थानीय रेपिट रेसपोन्स टिम(आर आर टी) को समूहलाई उत्कृष्ट कार्य गरिरहेको भन्दै पदहस्तान्तरणको अवसरमा बाहुनडाँगी जेसीजले बिषेश सम्मान समेत गरेको थियो ।
कार्यक्रमको उद्घाटन शत्रको सञ्चालन वर्ष २०२३ का महासचिव नित्यानन्द चम्लगाई, निर्वाचन आयुक्त दिपक बराल र वर्ष २०२४ की महासचिव सुस्मा खतिवडाले गर्नु भएको थियो ।