काकरभिट्टा, पुस २६ । कोशी प्रदेश सभाका सदस्य गोपाल तामाङले प्रदेशलाई स्थापित गराउन प्रदेश सभा लागिरहेको बताउनु भएको छ । प्रेस क्लव मेचीनगरको साधारण सभालाई आज काकरभिट्टामा सम्बोधन गर्दै सांसद तामाङले अहिले चौतर्फी रुपमा संघीयतामाथी आक्रमण भइरहेकाले प्रदेश सभाले प्रदेशलाई नै बलियो बनाउने काममा कानूनी र प्रक्रियागत रुपमा काम गरिरहेको बताउनु भयो ।
‘अहिले संघीयता नै चाहिदैंन भन्ने कुरा फेसबुकमा मात्रै होईन मिडियाहरुमा समाचारकै रुपमा आउन थालेका छन,’ सांसद तामाङले भन्नुभयो, ‘हामी प्रदेशले जनस्तरसम्म काम गर्न सक्छ भनेर प्रदेश चाहिन्छ भन्ने बनाउने गरी काम गरिरहेका छौं ।’ संघीयता कै कारण आज सञ्चारकर्मीहरुले स्वतन्त्रतापूर्वक कलम चलाउन पाइरहेको भन्दै प्रादेशिक व्यवस्थाको पक्षमा सञ्चारकर्मीहरुले समेत कमल चलाउनु पर्ने तामाङले धारणा राख्नु भयो ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न साधारण सभामा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले पुर्वी नाका दैनिक रुपमा खस्कदै गएकाले यहाँका स्थानीय र सञ्चारकर्मीहरुले यसप्रति गम्भिर बन्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा मेचीनगर वडा नं. ५ का वडा अध्यक्ष कनक कार्की, वडा नं. ७ का वडा अध्यक्ष प्रल्हादमणी ओली र मेचीनगर ८ का वडा अध्यक्ष गिरीराज धमलाले नगरपालिकाका वडा कार्यालयहरु सहज रुपमा सञ्चालन भए पनि नगर कार्यपालिकाको कार्यालयमा भने समस्या भएका कारण जनप्रतिनिधिहरुले समस्या भोगिरहनु बताउनु भयो । वडा अध्यक्षहरुले सञ्चार संस्थाहरुलाई आवश्यक सहयोगका लागि कार्यपालिकामार्फत पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सन्तोस आचार्य, पुर्व अध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल र लक्ष्मी उप्रेतीले, फोनिज झापाकी अध्यक्ष भुमिका सुब्बा, अग्रज पत्रकार जि एन शर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । अध्यक्ष बरालले संस्थागत गतिविधिको प्रतिवेदन पेश गर्नु भएको साधारण सभाको बन्द सत्रमा आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिनिता शर्माले प्रस्तुत गर्नु भएको थियो ।
साधारण सभाको बन्द सत्रमा मेचीनगर क्षेत्रका पत्रकारिताका समस्या, चुनौती र भावि योजनाका बारेमा व्यापक छलफल गरेको थियो । क्लबका उपाध्यक्ष जिआर धितालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम सचिव देबु बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।