झापा, पुस २६ । झापाको भद्रपुर र विर्तामोडमा राष्ट्रिय भाक्का दिवस उत्सवको रूपमा मनाउन लागिएको छ । आदिवासी राजवंशी समुदायको जाति विशेष परिकार भाक्का अर्थात भक्का दिवसलाई यही पुस २९ गते आइतबारका दिन उत्सवको रुपमा मनाउन लागिएको आयोजक समितिले जनाएको छ । राजवंशी समाज विकास समितिले यो वर्ष विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सातौं राष्ट्रिय भाक्का दिवस मनाउने तयारीमा जुटेको छ ।
बुधबार आयोजनास्थलमा पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष अभय राजवंशीले कार्यक्रमको प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आउने बताउनु भयो । राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले भाक्का दिवस मनाउँदै आएको उहाँको भनाइ छ ।
भाक्का दिवसमा १५० जना महिलाहरूले सामूहिक रुपमा दुई हजार किलो चामलबाट तयार भएको पिठोबाट भाक्का बनाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यक्रमलाई भव्य बनाउन भारतीय गायिका नीलाञ्जना राय बिर्तामोड आउने अध्यक्ष अभय राजबंशीले बताउनु भयो । पश्चिम बंगाल अलिपुरद्वारकी राय सन २०२२ को सारेगामापाकी विजेता हुनुहुन्छ भने २०१७ को भ्वाइस अफ इन्डिया किड्सको उपविजेता र २०१८ को इन्डियन आइडल जुनियरमा तेस्रो हुनु भएको हो ।
त्यस्तै सेलिब्रेटी सेफ सन्तोष शाह पनि कार्यक्रममा आउने जनाइएको छ । कार्यक्रममा पाँच सयजना कलाकारहरूको सामूहिक लोक सांस्कृतिक राजवंशी नृत्यको प्रस्तुति रहनेछ भने ३० हजारको सहभागिता रहने अनुमान गरिएको आयोजक समितिले जनाएको छ ।
त्यस्तै झापाकै भद्रपुरमा पनि भाक्का दिवस मनाउने तयारी भएको छ । भद्रपुरमा पहिलो पटक मनाउन लागिएको भाक्का दिवस भद्रपुर ६ स्थित सिटी गार्डेन होटेल परिसरमा पुस २९ गते बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मनाउन लागेको दिवसको बारेमा आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
यसैबीच झापाको कचनकवल गाउँपालिकाले राष्ट्रिय भाक्का दिवसका दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । आदिवासी राजवंशी समुदायको बाहुल्यता रहेको कचनकवलमा यही पुस २९ गते आइतबारका दिन मनाइने राष्ट्रिय भाक्का दिवसको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको हो । उक्त दिन अति आवश्यक सेवाबाहेक कचनकवल गाउँपालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहने गाउँपालिकाले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।
पुस २७ गते पृथ्वी जयन्ती र तोल ल्होसार, पुस २८ शनिबार र माघ १ गते माघे सङ्क्रान्ति पर्व परेकोले गाउँपालिकामा लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।