मेचीनगर, पुस २५ । झापाको मेचीनगर नगरपालिका कार्यालयबाट गोप्य कागजात बाहिरिएको खुलासा भएको छ । नगरका दुई वटा सडक निर्माण सम्बन्धी गोप्य कागजात नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नै सार्वजनिक गर्नु भएको तथ्य खुल्न आएको हो । विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको धुलाबारी चोकदेखि थोप्लेबिरानसम्मको ५ दशमलब ३ किलोमिटर सडक र काकरभिट्टादेखि बाहुनडाँगी बजारसम्मको ८ दशमलब ५ किलोमिटर सडक निर्माणसम्बन्धी नगरप्रमुखले सदर गरेको टिप्पणी लगायतका कागजात मेचीनगर नगरपाकिलकाको नगरप्रमुखको सचिवालयको फेसबुक पेजबाट पुस २२ गते अपरान्ह सार्वजनिक गरिएको थियो ।
कानूनत दुई करोड भन्दा बढीको रकमको सदर गरिएको टिप्पणी लगायतका कागजातलाई सार्वजनिक गर्न नमिल्ने उल्लेख गरेको छ । तर सडक निर्माणको काम हामीले नै गरेको हो भन्ने जस लिने नाममा नगरप्रमुख बुढाथोकी सहित नगरका केही जनप्रतिनिधिहरुले नै कानूनले गोप्य भनेको कागजात सार्वजनिक गरेका छन । गोप्य कागजात सार्वजनिक भएको बिषयलाई व्यवस्थापन गर्न नसकिए सडक निर्माणका लागि विश्व बैंकले मेचीनगरलाई उपलब्ध गराउन लागेको सहयोग रकम नै रोक्न सक्ने जानकारहरु बताउँछन ।
‘नगरपालिकाले विश्व बैंकसंग जोडिएको गोप्य कागजातहरु सार्वजनिक गरेको बिषय गम्भिर छ,’ एक प्राविधिकले भन्नुभयो, ‘यस्तो कुराले विश्व बैंकले दिने सहयोग रोक्न सक्छ ।’ मेचीनगरलाई दुई वटा सडक निर्माणका लागि विश्व बैंकले एक अर्ब ३ करोड रकम सहयोग गर्ने भएको छ । गोप्य कागजातको बिषयमा कसैबाट उजुरी परेको अवस्थामा यो रकम विश्व बैंकले रोक्न सक्ने र जसका कारण निर्माण शुरु हुन लागेको मेचीनगरका दुई वटा मुख्य सडकको काम नै रोकिन सक्ने जोखिम बढेको छ ।
नगरपालिकामा जस लिने होडबाजीले गोप्य कागजातसमेत बाहिरिएको भनेर मेचीनगरकै केही जनप्रतिनिधिहरुले समेत सुनाएका छन । नगरप्रमुख बुढाथोकीले नै उक्त कागजात मोबाईलले फोटो खिचेर सार्वजनिक गर्न लगाएको नगरका एक जनप्रतिनिधिले जानकारी दिनु भएको छ । झापा क्षेत्र नं. १ का संघीय सांसद विश्वप्रकाश शर्माले सडक निर्माणको बिषयमा दिएको जानकारी अनुसार विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भए पछि सांसदले होईन नगरपालिकाले सडक निर्माणका लागि विश्व बैंकसंग सहयोग लिन सफल भएको भन्ने उद्देश्यले पुस २२ गते नगरपालिकाले ‘यथार्थ विवरण सार्वजनिक गरिएको सम्बन्धमा’ भनेर दुवै सडकको निर्माण प्रक्रियाका बारेमा सार्वजनिक सूचना नै जारी गरेको थियो ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले हस्ताक्षर गर्नु भएको उक्त सार्वजनिक सूचनासंगै नगरप्रमुखको सचिवालयको फेसबुक पेज लगायत अन्य जनप्रतिनिधिहरुको फेसबुक पेजबाट केही कागजात समेत सार्वजनिक भएको थियो जुन कानूनत गोप्य भनिएको कागजात समेत थिए । धेरैले चासो राखे पछि गोप्य भनिएका कागजात फेसबुकबाट हटाइएको छ भने शेयर गर्नेहरु केहीले आफ्नो पोष्ट नै हटाएका छन । तर केही घण्टा फेसबुकमा सार्वजनिक भएको गोप्य कागजात अहिले नगरका धेरै नागरिकहरुका मोबाईलमा सुरक्षीत भइसकेका छन ।
यस बिषयमा नगरप्रमुख बुढाथोकीले आफुलाई जानकारी नभएको सेतोपत्रलाई बताउनु भयो । ‘कार्यालयका सबै कागजात मैले हेरेको हुँदैन र हेर्न भ्याउँदिन पनि,’ नगरप्रमुखले भन्नुभयो, ‘के भएको रहेछ कार्यालयमा बुझ्छु ।’
कार्यालयको गोप्य कागजात कानूनले दिएको अधिकारभन्दा बाहिर गएर सार्वजनिक गर्ने जिम्मेवार जनप्रतिनिधि र कर्मचारीलाई कानूनत दण्ड जरिवानाको समेत व्यवस्था गरिएको छ ।
यो पनि पढ्नुहोस ।
https://www.setopatra.com/detail/4847