काकरभिट्टा, पुस १९ । लागू पदार्थ दुर्व्यसन, ओसारपोसार नियन्त्रणका लागि सरोकारवालाहरुले चासो लिएका छन । बुधबार काकरभिट्टामा लागू पदार्थ दुर्व्यसन सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले यसको नियन्त्रणमा सबै जुट्नु पर्ने बताएका थिए ।
मेचीनगर ६, स्थित काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुसहित आम नागरिकको वृहत सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा र मेची सामुदायिक सेवा केन्द्रले संयुक्तरुपमा आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रममा बढ्दो लागू पदार्थ दुर्व्यसन, ओसारपोसार, बिक्री वितरण नियन्त्रण सम्बन्धमा वृहत अन्तरिक्रया तथा छलफल सम्पन्न भयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेश सांसद गोपाल तामाङले निरन्तर रुपमा यस्ता मानवीय क्षती हुने गतिविधि रोक्न सबै क्षेत्रको महत्वपूर्ण योगदान रहने बताउनुभयो ।
सांसद तामाङले भन्नुभयो, “लागू औषध दुर्व्यसनी र ओसारपोसारसँगै विक्री वितरण जस्ता कार्यलाई रोक्न दीर्घकालिन योजना बनाएर कार्यान्वयन गर्नुको विकल्प छैन ।”
उहाँले यसको दिगो समाधानका लागि तीनै तहका सरकार र सामाजिक संघसंस्था, नागरिक समाजको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो । सांसद तामाङले सकारात्मक कार्यभन्दा नकारात्मक कार्यलाई प्रसय दिने चलन बढेको बताउँदै उहाँले यसलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि मेचीनगरका उपप्रमुख मीना पोख्रेल उप्रेतीले सीमानामा अवस्थित मेचीनगर पालिका अन्य पालिकाभन्दा भौगोलिक रुपमा समेत फरक भएकाले स्थानीय सरकारले स्थायी समाधानका लागि सरोकारवालाहरुसँग समन्वय र सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“स्थानीय सरकारले कुलतमा फसेका नागरिकलाई स्थायी संरचना निर्माण गरी पुनस्र्थापित गराउने योजना अघि बढाएको छ ।”
कार्यक्रममा कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका निवर्तमान प्रमुख विमल आचार्य, वडा नं ६ अध्यक्ष ललितबहादुर तामाङ, वडा नं ८ अध्यक्ष गिरीराज धमला, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई अर्याल लगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले स्वागतसँगै एक वर्षको अवधिमा झापामा भए गरेका लागू औषधका घटना सम्बन्धी तथ्यांक प्रस्तुत गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको तर्फबाट संकल्क अभियानका संयोजक विजय डाल्मिया, नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरे, होटल व्यवसायी संघ मेचीनगर वरिष्ठ उपाध्यक्ष ध्रुव गिरी, पूर्व अध्यक्ष अर्जुन सुब्बा, महिला नेतृ विट्टु गुरुङ, भिम लुईटेंल, लक्ष्मी थिङ, रीना विश्वकर्मा, सुवर्ण भट्टराई, शिशिर चम्लगाईं, खगेन्द्र घिमिरे, प्रविन अधिकारी, प्रज्जवल पौडेल, शारदा पराजुली, विशाल तामाङ, उदय प्याकुरेल,रोमा थापा मगर लगायतले लागू औषधका समस्या तथा समाधानका लागि राज्यले गर्नुपर्ने कामका विषयमा धारणा एवं सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको तर्फबाट कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दिपक भारततीले संयोजन गर्नु भएको थियो । अन्तरिक्रया कार्यक्रममा विभिन्न संघसस्था, टोल विकास समिति पदाधिकारी, नागरिक अगुवा, सामाजिक अभियन्ता, सञ्चारकर्मी, सुरक्षानिकाय, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, व्यवसायीसहित दुईसय बढी सहभागी थिए ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा सहजीकरण मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले गर्नु भएको थियो ।