झापा, पुस १८ । मेचीनगर नगरपालिका कार्यालयमा केही दिनदेखिको बिवाद सार्वजनिक भइरहेको थियो । खास गरी नगरका विभिन्न ठाउँमा ठेकेदारले भण्डारण गरेको नदिजन्य सामग्री (ढुंङ्गागिटि) लाई नगरपालिकाले जफत गर्नु पर्ने वा सम्बन्धीत ठेकेदारलाई नै उठाउन दिनु पर्ने बिषयमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीबीचको बिवाद उत्कर्षमा पुगेको थियो ।
नगरप्रमुख बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेतीसहित नगरका सबैजसो जनप्रतिनिधि भण्डारण गरिएको नदिजन्य सामग्री सम्बन्धीत ठेकेदारलाई नै उठाएर बिक्रि गर्न दिनु पर्ने अडानमा रहेका छन भने प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरु कानूनत उक्त भण्डारण गरिएको नदिजन्य सामग्री नगरपालिकाले जफत गरी बिक्रि गर्नु पर्ने अडानमा रहेका कारण लामो समयदेखि मेचीनगरमा जनप्रतिनिधि र कर्मचारीबीचको बिवादको केन्द्र बनेको छ ‘ढुंङ्गागिटि’ ।
नदिजन्य सामग्रीको भण्डारणलाई नगरपालिकाले जफत गर्नु पर्ने महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा समेत किटानीका साथ उल्लेख गरेको छ । बिवादकै बिच पुस १२ गते बिहिबार नगरप्रमुख बुढाथोकीले भण्डारण गरिएको नदिजन्य सामग्री ठेकेदारलाई उठाउन दिने प्रक्रिया थाल्न प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई निर्देशन दिए पछि भने प्रमुख प्रशासकीय अधिकृत भड्कीएका थिए । रेग्मीले नगरपालिकाले जफत गर्नु पर्ने भने पछि ढुंङ्गागिटि ठेकेदारलाई उठाउन दिनु हुँदैन भनेर नगरप्रमुखसंग प्रतिवाद गर्नुभयो । त्यसक्रममा नगरप्रमुख बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत रेग्मीबीच चर्काचर्की पर्यो ।
नगरप्रमुखका लागि नगरका विभिन्न ठाउँमा भण्डारण गरिएको ढुंङ्गागिटि सम्बन्धीत ठेकेदारलाई नै उठाउन दिनु पर्ने दबाब आफ्नै पार्टी नेकपा एमालेबाट चौतर्फी रुपमा परिरहेको थियो र छ । किनकी उक्त नदिजन्य सामग्री भण्डारण गर्ने ठेकेदार राजकुमार थापा नेकपा एमालेका प्रदेश कमिटि सदस्य हुनुुहुन्छ । आफ्नै पार्टीको नेताको पक्षमा बोल्नु नगरप्रमुख बुढाथोकीलाई बाद्यता परेको थियो । तर कर्मचारी नेतृत्व नगरप्रमुखको पक्षमा नभिएकै कारण बुढाथोकी संकटमा पर्दै जानु भएको छ । पुस १३ गते शुक्रबार एमाले प्रदेश कमिटि सदस्य समेत रहनु भएका ठेकेदार राजकुमार थापा नेतृत्वको टोली मेचीनगर कार्यालयमा आउने खबर आए पछि यो बिषयलाई कसरी समाधान गर्न सकिन्छ भनेर नगरप्रमुख बुढाथोकी शुक्रबार कार्यालय समयको शुरुवात मै कर्मचारीहरुसंग छलफलमा जुट्नु भएको थियो ।
नगरप्रमुखको कार्यकक्षमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत रेग्मी, नगरका लेखा अधिकृत पदमबहादुर कार्की, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायत बसेर छलफल गरिरहेको बेला पुस १३ गते राजकुमार थापा सहितको समूह नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्छ । ठेकेदार राजकुमार थापा र उहाँसंगै आएका प्रभात राईले प्रमुख प्रशासकीय अधिकृत रेग्मीमाथी आक्रमणको प्रयास गरे पछि अवस्था तनावपूर्ण बन्छ । त्यो दिन कार्यालय भित्र र कार्यालय बाहिर प्रमुख प्रशासकीय अधिकृत रेग्मी र ठेकेदार थापाबीच चर्काचर्की भएको भिडियो सामग्री सामाजिक सञ्चालहरुमा सार्वजनिक भइसकेका छन ।
भोलि पल्ट पुस १४ गते शनिवार र पुस १५ गते तमू ल्हासारको विदा परेकाले सोमबार मात्रै यस बिषयमा थप छलफल गर्ने मुडमा नगरप्रमुख बुढाथोकी रहेको घट्नाक्रमले देखाउँछ । तर नगरका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरुले कर्मचारीमाथी दुर्व्यवहार गर्ने ठेकेदार राजकुमार थापालाई कारबाहीको प्रक्रिया अगाडी बढाउन नगरप्रमुख बुढाथोकीलाई दबाब दिइरहेका थिए । बुढाथोकी भरसक ठेकेदार राजकुमार थापालाई कारबाही अगाडी बढाउने कामबाट जोगिन चाहनु हुन्थ्यो । किनकी आफ्नै पार्टी नेकपा एमालेका प्रदेश कमिटि सदस्य हुनु र बुढाथोकीकै सहयोगीहरु थापाको पक्षमा उभिएका कारण पनि नगरप्रमुख संकटमा पर्नु भएको थियो । तर कर्मचारीहरुको चर्को दबाबकाबीच पुस १५ गते आईतबार विदाकै दिन भए पनि नगरपालिकाका तर्फबाट नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले संयुक्त हस्ताक्षर गरी बिज्ञप्ती जारी गर्ने सहमति भयो । उपप्रमुख उप्रेती एमालेको केन्द्रीय सदस्य तथा अध्यक्ष केपी शर्मा ओली निकट मानिने भएकाले पनि ठेकेदार थापासमेत अध्यक्ष ओली निकटका भएकाले उपप्रमुखलाई समेत बिज्ञप्तीमा हस्ताक्षर गराउँदा पार्टीको दबाब झेल्न सजिलो हुने नगरप्रमुख बुढाथोकीको आँकलन थियो । सहमति अनुसार दुर्व्यवहार गर्ने ठेकेदार थापालाई कानूनी कारबाहीको माग गर्दै पुस १५ गते बेलुका ७ बजे नगरपालिकाको बिज्ञप्ती जारी भयो ।
जसै नगरपालिकाको बिज्ञप्ती सार्वजनिक भयो, नेकपा एमालेबृत्तमा खैलाबैला चल्यो । नगरप्रमुख र उपप्रमुखसहित करीब ९० प्रतिशत जनप्रतिनिधि एमालेबाटै निर्वाचित भएको मेचीनगरबाट अध्यक्ष केपी ओली निकटका प्रदेश कमिटि सदस्य थापालाई कारबाहीको माग राखेर बिज्ञप्ती कसरी जारी भयो ? अब के गर्ने ? भन्ने बिषयमा एमाले पार्टीको मेचीनगर कमिटिदेखि जिल्ला, प्रदेश र केन्द्रीय नेताहरुबिच राति नै कुराकानी भएको एमालेका एक नेताले बताउनु भएको छ । नेताहरुबीचको छलफलले खासै निस्कर्ष ननिकाले पनि ठेकेदार थापा पक्षका एमालेसम्बद्ध युवाहरु मेचीनगरको बिज्ञप्तीको प्रतिकार गर्ने मनशाय बनाएर पुस १६ गते मेचीनगर नगरपालिका घेराउ गर्ने, नगरप्रमुखलाई ठेकेदार थापाको पक्षमा उभिन दबाब दिने लगायतका कार्य गर्ने टुङ्गोमा पुगे । पुस १६ गते सोमबार बिहानै एमालेका युवा नेताहरुले नगरप्रमुख बुढाथोकीलाई चेतावनी शैलीमा फोनमा थर्काए । ठेकेदार थापालाई कारबाही गरेर देखाउन चुनौती दिए । स्रोतले दिएको जानकारी अनुसार एमालेका एक युवा नेताले बुढाथोकीलाई फोन गरेर भने, ‘आज राजकुमार थापालाई लिएर नगरपालिका आउँदैछौं, सक्छौ भने पक्राउ गरेर देखाउ ।’
पार्टीभित्रैबाट आएको चर्को दबाबले नगरप्रमुख बुढाथोकी धर्मसंकटमा परिसक्नुभएको थियो । उहाँ बिहानैदेखि यो संकट कसरी समाधान गर्ने भनेर आफ्ना निकटका व्यक्तिहरुसंग परामर्शमा जुट्नु भएको थियो । त्यस क्रममा बुढाथोकीले अन्य राजनितिक दलका नेताहरुलाई समेत फोनमा कुराकानी गर्नु भएको थियो भने केही नेतालाई प्रत्यक्ष भेटेरै पनि आफु समस्यामा परेको बिषयमा छलफल गर्नु भएको खुल्न आएको छ ।
यसैबीचमा प्रहरी प्रशासन भने आफ्नै तयारीमा थियो । प्रहरीस्रोतका अनुसार नगरपालिकामा आएर बिवाद गरे ठेकेदार राजकुमार थापालाई नियन्त्रणमा लिने प्रहरीको तयारी थियो । यता नगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मी पनि सबै वडा कार्यालयबाट कर्मचारीलाई नगरपालिका बोलाएर ठेकेदार थापासंग भिडन्त गर्ने मुडमा देखिनु भएको थियो ।
पार्टीको दबाब र कर्मचारीसंगको बिवादले रन्थनिनु भएका नगरप्रमुख बुढाथोकी पुस १६ गते बिहान कार्यालय समयमा नगरपालिका पुग्नु भयो । त्यसबीचमा उहाँले एमाले नेता राजु कार्कीसंग फोनमा केही कुराकानी गर्नु भएको थियो । नगरपालिका पुगे पछि नगरप्रमुख बुढाथोकीले कार्कीलाई नगरपालिका कार्यालयमा नै बोलाउनु भयो । कार्की एमाले प्रदेश कमिटि सदस्य समेत रहनु भएका ठेकेदार राजकुमार थापा पक्षका नेता हुनुहुन्छ । कार्की नगरपालिका कार्यालय पुग्ने बित्तिकै नगरप्रमुख बुढाथोकीले नगरप्रमुखको कार्यकक्षसंगै रहेको गोप्य कोठामा लिएर जानु भयो । बुढाथोकी कार्की मार्फत थापालाई नगरपालिका आउनबाट रोकेर पक्राउ हुनबाट जोगाउने मनशायका साथ छलफलमा जुट्नु भएको थियो । यदि थापा पक्राउ परेमा आफ्नो नगरप्रमुखको पद नै धरापमा पर्ने बुढाथोकीलाई डर थियो । एमालेभित्रको राजनितिमा कमजोर देखिनु भएका बुढाथोकी थापालाई पक्राउ गराएर अध्यक्ष ओलीसंग दुश्मनी साध्न चाहनुहुन्नथ्यो ।
कार्की र नगरप्रमुखबीच कुराकानीको शुरुवात मात्रै के भएको थियो प्रमुख प्रशासकीय अधिकृत रेग्मी एक्कासी गोप्य कोठाको ढोका खोलेर भित्र पस्दै नगरप्रमुखलाई ठेकेदार थापा पक्षका व्यक्तिसंग नगरपालिका भित्रै गोप्य भेटघाट नगर्न भन्नुभयो । सो क्रममा नगरप्रमुख बुढाथोकी, रेग्मी र एमाले नेता कार्कीबीच बिवाद भयो । बिवाद यतिसम्म भयो कि रेग्मीले नगरप्रमुखलाई दुर्व्यवहार समेत गर्न पुग्नुभयो । नगरप्रहरीलाई नगरप्रमुखलाई पक्राउ गर्न आदेश दिए तर नगरप्रहरी अगाडी बढ्न सकेन । बिवादकै बिच कार्कीले एमालेसम्बद्ध युवाहरुलाई नगरपालिकामा बोलाउनु भयो । त्यसपछि भने घट्नाले अर्कै रुप लियो । जुन दृश्यमा सबैले देखियो ।
पुस १६ गते समयमा नै प्रहरी परिचालन नभएको भने एमाले सम्बद्ध युवाको समूहले प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकामा ठुलै क्षति गराउने निश्चित नै थियो । उक्त दिन सार्वजनिक भएको भिडियोमा आक्रोशित युवाहरुको समूहले प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई मार्ने धम्की दिएको स्पष्ट सुन्न सकिन्छ । दृश्यमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको बिवादले उग्र रुप लिंदा रेग्मीलाई सुरक्षा घेरामा जिल्ला प्रशासन कार्यालय पठाइएको देखिए पनि पुस १६ गते मेचीनगर नगरपालिकाको कार्यालय परिषरमा घटेको घट्नाले नगरप्रमुख बुढाथोकीका लागि तत्काललाई ठुलै संकट टरेको थियो ।
यदि रेग्मी केही समय शान्त रहनु भएको थियो भने घट्नाले फरक रुप धारण गर्ने सहजै आँकलन गर्न सकिन्छ । पुस १६ पछिको घट्नाले नगरपालिकामा अभद्र व्यवहार गरेको र नगरप्रमुखकै कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गरेको बिषयमा ठेकेदार थापालाई कारबाही गर्नु पर्ने भनेर नगरपालिकाले निकालेको प्रेस बिज्ञप्तीको बिषय अन्यत्र मोडिएको छ । जुन कुराले नगरप्रमुख बुढाथोकीलाई ठुलै राहत मिलेको छ ।