मेचीनगर, पुस १६ । झापाको मेचीनगर ७ स्थीत जोरसिमलमा सम्पन्न भएको प्रथम जोरसिमल कप फुटबल प्रतियोगिता २०८० को उपाधी एनएफसी धुलाबारीले जितेको छ । सोमबार सम्पन्न प्रतियोगिताको फाईनलमा एनएफसी धुलाबारीले ब्रदर्श एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । एनएफसी धुलाबारीलाई विजेता बनाउन सेवन थापा मगरले २ गोल र आदित्य ढुङ्गेल र निरज कार्कीले एक एक गोल गरेका थिए भने ब्रदर्श एफसीका हेमन्त लिम्बुले दुई गोल गरेका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका ब्रदर्श एफसीका लिम्बुले फाइनल खेलमा पनि उत्कृष्ट प्रदर्शन गरे पनि उनको प्रयासले टिमलाई जित दिलाउन सकेन । फाइनल खेलको म्यान अफ दि म्याच धुलाबारीका आदित्य ढुङ्गेल घोषित भएका थिए भने प्रतियोगिताको उत्कृष्ट गोलकिपर धुलाबारीका आकाश खड्कालाई चयन गरिएको थियो । त्यस्तै बेष्ट डिफेन्डर धुलाबारीकै एन्जल गुरुङ, सर्बाधिक गोल कर्ता धुलाबारीकै सेवन थापा मगर घोषित हुँदा राइजिङ प्लेयरका रुपमा आयुर शिवा तथा राइजिङ स्टारको उपाधी धुलाबारीकै जसवन्त मेचेले हात पारेका थिए ।
प्रतियोगिताको विजेता धुलाबारी ३१ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए भने उपविजेता ब्रदर्श फएसीले २१ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । विजेता तथा उपविजेता खेलाडीहरुलाई मेचीनगर वडा नंं ७ का वडा अध्यक्ष प्रल्हादमणी ओली, वडा नं. १० का वडा अध्यक्ष नारायण खनाल लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
फाईनल प्रतियोगिताका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले समेत केही बेर खेलको अवलोकन गर्नु भएको आयोजक समितिका संयोजक सञ्जय मेचेले जानकारी दिनुभयो । समापन समारोहमा मेचीनगर ७ का वडा अध्यक्ष प्रल्हादमणी ओली, मेची सामुदायिक सेवा केन्द्र काकरभिट्टाका अध्यक्ष मुक्ति पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
आयोजक समितिका संयोजक सञ्जय मेचेको सभापतित्वमा सम्पन्न समापन समारोहमा मेचे समुदायिकको मौलिक नृत्य समेत प्रस्तुत गरिएको थियो । फाईनल भन्दा अघि स्थानीय १३ बर्ष मुनिका किशोरहरुको समेत फुटबल खेल सञ्चालन गरिएको संयोजक मेचेले बताउनु भयो । पुस ९ गतेदेखि शुरु भएको प्रतियोगितामा मेचीनगरका ११ वटा टिमले सहभागिता जनाएका थिए ।