काकरभिट्टा, पुस १२ । नेपालको पुर्वी प्रवेशद्वारलाई आकर्षक र सफा बनाउन सबै सरोकारवालाहरुले सहयोग गर्ने बताएका छन । संकल्प अभियानले बिहिबार काकरभिट्टामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने सबैजसो सरोकारवालाहरुले देशकै अनुहारको रुपमा रहेको पुर्वीप्रवेशद्वारलाई पर्यटक आकर्षित बनाउने गरी सुन्दर र सफा बनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै संविधान सभाका सदस्य रविन कोईरालाले बल्ल सार्थक अभियान शुरु भएको भन्दै पुर्वी नाकालाई व्यवस्थीत बनाउँदै यहाँ रहेका बिकृतिलाई नियन्त्रण गर्न संकल्प अभियानलाई आफ्नो साथ रहने बताउनु भयो । त्यस्तै निवर्तमान मेचीनगर प्रमुख विमल आचार्यले आफ्नो ठाउँलाई सुन्दर र व्यवस्थीत बनाउन स्थानीयस्तरबाट नै लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै सहकारी अभियन्ता रामचन्द्र उप्रेतीले हरेक नागरिकले आफैंबाट उदाहरण प्रस्तुत गरेर मात्रै परिवर्तन सम्भव हुने बताउनु भयो । संकल्प अभियानले पनि परिवर्तनका लागि केही बिषेश सूचक बनाएर त्यसमा सहभागि गराउनु पर्ने बताउँदै आफ्नो अभियानमा सहयोग रहने उप्रेतीले बताउनु भयो । कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले पुर्वी नाका व्यवस्थीत गर्दै गर्दा नाकालाई कमजोर बनाउने गतिविधि गर्न नहुने तर्फ सचेत हुनु पर्ने बताउनु भयो । उहाँले सबै कुरा भारतमा गएर किनमेल गर्ने प्रबृत्तिले काकरभिट्टासंगै पुर्वी नाकाकै व्यवशाय धराशाय बन्दै गएको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा मेची बस व्यवशायी प्रालिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, देवन खरेल, मुकुन्द शिवाकोटी, राजु दाहाल, भुपाल शिवाकोटी लगायतले पुर्वी नाकालाई व्यवस्थीतसंगै तेस्रो देशका मानिस आउन भारतिय पक्षले गरेको अवरोध हटाउन समेत संकल्प अभियानमार्फत पहल गर्न पनि आग्रह गर्नु भएको थियो । अभियानका संयोजक विजय डालमियाले संकल्प अभियानले तत्कालका लागि पुर्वी प्रवेशद्वारलाई सुन्दर र सफा बनाउने बताउनु भयो । डालमियाले अभियानले विभिन्न क्षेत्रको सकरात्मक बिषयलाई उठान गरेर देश विकासमा राज्य पक्षको सहयोगीको भूमिका निर्वाह गर्ने स्पष्ट पार्नु भयो ।
संकल्प अभियानले कुनै काम गर्नका लागि रकम संकलन नगर्ने र खाना नपाउने र सम्भव भएसम्म लुगा लगाउन नपाउने अवस्थाबाट अप्ठ्यारो परेको अवस्था आउन नदिने र बेवारिसे अवस्था पर्न नदिने संकल्प लिएर अभियान शुरु गरेको संयोजक डालमियाले बताउनु भयो । कुनै काम गर्नु पर्दा सहयोगी महानुभावहरु र सरकारी निकायहरुसंग सहजिकरण गर्ने र वहाँहरु मार्फत नै काम गराउने व्यवस्था गरिने र अभियानका तर्फबाट रकम लिने काम नगर्ने संयोजक डालमियाले बताउनु भयो ।
काकरभिट्टास्थीत मेची सामुदायिक भवनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विभिन्न संघ संस्था, राजनितिक दल, सरकारी कर्मचारी र सुरक्षा निकायहरुसहित करीब ७० जनाको उपस्थीति रहेको थियो । इन्जिनियर विवेक श्रेष्ठले पुर्वी नाकाको अहिलेको अवस्था र अभियानले गरेको परिकल्पनाको प्रारुप थ्रीडि मार्फत प्रस्तुत गर्नु भएको कार्यक्रम अभियानका सदस्य दिपक पोखरेलको सहजिकरणमा सम्पन्न भएको थियो ।