बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस सोमबार बिर्तामोडमा मनाइएको छ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको कार्यक्रममा महासंघ झापाको संस्थापक कार्यसमितिलाई सम्मान गरिएको थियो । सोही अवसरमा विभिन्न दाताहरुले महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई नगद तथा चेक हस्तान्तरण गरेका थिए । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका संस्थापक समितिका सचिव तथा पूर्व अध्यक्ष तारा बराल, संस्थापक समितिका सदस्य तथा पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्री र संस्थापक कार्यसमिति सदस्य मोहन ढुंगानालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । ढुंगानाको सम्मान उहाँका छोरा पूर्व पत्रकार देवेन्द्रकिशोर ढुंगानाले ग्रहण गर्नु भएको थियो ।
सहभागी सबैले सामुहिक रुपमा दिप प्रज्ज्वलन गरी महासंघको ३५औं स्थापना दिवसको उत्सव मनाएका थिए । कार्यक्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवम मुलुकमा परिवर्तनका लागि पत्रकार महासंघ झापाले निर्वाह गरेको भूमिकाको चर्चा गरिएको थियो । कार्यक्रमका वक्ताले नेपाली पत्रकारिताको इतिहासमा झापाली पत्रकारिताको स्थान र गरिमा उच्च रहेको भन्दै पत्रकारहरुको छाता संस्था महासंघलाई कमजोर बनाउने खेल कतैबाट हुनु नहुने कुरामा जोड दिए ।
प्रमुख अतिथि उपसभामुख राना, पूर्व अध्यक्षहरुको तर्फबाट संस्थापक समितिका सचिव समेत रहेका बराल र सामाजिक संघ–संस्थाका तर्फबाट एकका लागि एक अभियानका सहसंयोजक तथा झापा गोल्डकपमा अध्यक्ष विनोद बस्तेले शुभकामना व्यक्त गरेका थिए । उपाध्यक्ष केशव भट्टराईले औचित्यमाथि प्रकाश तथा उपाध्यक्ष सुशिला संग्रौलाले स्वागत गरेको कार्यक्रम सचिव डिकेश लामाले सञ्चालन गर्नु भएको थियो ।
पत्रकार उपचार कोषमा एकै दिन ९ लाख संकलन
नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा सोमबार एकैदिन नौ लाख रुपैयाँभन्दा बढी रकम जुटेको छ । सोमबार बिर्तामोडमा महासंघ झापाको ३५औं स्थापना दिवसको अवसर पारेर सामाजिक तथा व्यवसायिक क्षेत्रका दाताहरुले पत्रकारको सामाजिक सुरक्षाका लागि स्थापित उक्त कोषमा नगद तथा चेक प्रदान गरेका हुन । कोषलाई एक करोड रुपैयाँ पुर्याउने लक्ष्यसहित महासंघले दाताहरुबाट सहयोग जुटाइरहेको छ । कोषको रकम लक्ष्यको नजिक पुगेको सो अवसरमा जानकारी दिइयो । उक्त कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील चारपानेका डिल्लीराम सिटौला, माया सिटौला र ध्रुव सिटौलाले परिवारको तर्फबाट एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गर्नुभयो ।
त्यस्तै चारपानेका सामाजिक व्यक्तित्व नारायण राजवंशीले एक लाख एक हजार रुपैयाँ प्रदान गर्नु भएको छ । सामाजिक अभियन्ता तथा व्यवसायिक क्षेत्रमा सक्रिय विनोद बस्नेतले एक लाख एक हजार, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष कुमारमणि पोखरेलले एक लाख, वीरता जेसीजका पूर्व अध्यक्ष तथा हिमालय मेडिसिन सेन्टरका सञ्चालक यामकुमार खड्काले एक लाख, युवा व्यवसायी रोनक वंशलले एक लाख रुपैयाँ प्रदान गर्नु भएको छ । चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमलीले ५० हजार रुपैयाँ प्रदान गर्नु भएको छ भने उहाँले यसअघि पनि कोषलाई ५० हजार रुपैयाँ प्रदान गरिसक्नु भएको छ ।
त्यस्तै मेची पेट्रोलियम डिलर्स एसोसिएसनका तर्फबाट अध्यक्ष नवीन कोइरालाले २५ हजार रुपैयाँ, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष सुरेश भद्रपुरेले २५ हजार, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवालले २१ हजार रुपैयाँ प्रदान गर्नु भएको छ । मेची पेट्रोलियम डिलर्स एसोसिएशनले यसअघि कोषलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो । कोषका लागि सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरु भरतकुमार गिरीले ५१ हजार, जलकुमार गुरुङले ५१ हजार, कुमार गिरीले ५१ हजार, केदार गिरीले २५ हजार प्रदान गर्ने घोषणा गर्नु भएको छ ।
केदार गिरीले यसअघि कोषमा ७५ हजार सहयोग प्रदान गर्नु भएको छ । महासंघले केही समयभित्रै कोषलाई एक करोड पुर्याएर कोषका दाताहरुलाई संस्थापक घोषणा गरी सम्मान गर्ने तयारी गरेको अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । अध्यक्ष गिरीका अनुसार अहिलेसम्म करीब ८५ लाख रुपैयाँ कोषमा जम्मा भइसकेको छ । पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोज जुट्ने क्रम जारी छ ।
नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको दाताहरुले प्रशंसा गरेका छन । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषलाई एक करोड पुर्याउन सहयोगका निम्ति महासंघले सबैमा अपिल समेत गरेको छ ।